राजविराज - आफ्नै नाबालक छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी देउरी गाविस–३ का २७ वर्षीय रामलाल साहलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ। न्यायाधीश किरणप्रसाद शिवाकोटीको एकल इजलासले सो आदेश दिएको हो। रामलालकी कान्छी पत्नी २० वर्षीया सन्तोषीकुमारी फरार रहेकाले वारेन्ट जारी गर्ने तथा सन्तोषीका बुवा महेन्द्रप्रसाद साहलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरिएको छ। साहले गत वैशाख १ गते जेठी पत्नीतर्फका छोरा तीन वर्षीय नरेशकुमारलाई विषादी सेवन गराई हत्या गरेको आरोप लगाउँदै मृतककी आमा अमेरिकादेवीले गत वैशाख ८ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अदालतमा कर्तव्यज्यान मुद्दा र बहुविवाह मुद्दा दर्ता भएको थियो।
रामलालले कान्छी पत्नी सन्तोषीलाई घर भित्र्याएपछि अमेरिकादेवी देउरी गाविस–३ स्थित माइती घरमा बस्दैआएकी तथा निजका छोरा नरेश पिता रामलालसँग बस्दैआएका थिए। गत वैशाख १ गते विषादी सेवनले बेहोस अवस्थामा नरेशलाई रामलाल र सन्तोषीले अमेरिकादेवीको माइत घरमा छाडेर गएको र नरेशको उपचारका लागि भारतको दरभङ्गा लैजाँदैगर्दा वैशाख २ गते विषादीका कारण मृत्यु भएको अमेरिकादेवीले बताइन्।
छोरालाई विष खुवाएर मार्ने बाबु पुर्पक्षमा
0 comments
Write Down Your Responses