स्ववियु चुनावका लागि फर्जी भर्ना गराएको विद्यार्थी संगठनले स्वीकारे
भक्तपुर – विद्यार्थी संगठनका पदाधिकारीहरुले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गरेका छन्। फर्जी विद्यार्थी भर्ना भए पनि त्रिभुवन विश्वविद्यालयले जेठ २३ गतेका लागि घोषणा गरिसकेको स्ववियू निर्वाचन भने स्थगित नहुने ती संगठनका पदाधिकारीहरुले बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा विद्यार्थी संगठनका नेताहरुले फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गर्दै स्ववियु निर्वाचन फर्जि विद्यार्थी र सक्कली विद्यार्थीबीच प्रतिस्पर्धा हुने बताए। नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले सबै विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरिएको बताउँदै फर्जी विद्यार्थी भर्ना भए पनि निर्वाचन भने स्थगित नहुने बताए। 'फर्जी विद्यार्थी सबै भन्दा बढी एमाओवादी निकट अखिल क्रान्तिकारीले गरेको छ तर पनि नेविसंघ फर्जी विद्यार्थी भर्ना भएकै कारणले निर्वाचन बिथोल्ने पक्षमा छैन।' नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले पनि सबै संगठनले फर्जी विद्यार्थी भर्ना गरेको स्वीकार गरे। फर्जी विद्यार्थी भर्ना गर्नेमा एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सघ र अनेरास्ववियू रहेको आरोप लगाउँदै ती संगठनको तुलनामा भने आफ्नो संगठनले नगण्य मात्रामा फर्जी विद्यार्थी भर्ना गरेको बताए। केही क्याम्पसमा भने चरम विवाद रहेको भन्दै त्यस्ता विवाद भएको क्याम्पसमा भने अखिल क्रान्तिकारीले निर्वाचन गर्न नदिने रसाइलीले दाबी गरे। एमाओवादी निकट अखिल क्रान्तिकारीका सचिवालय सदस्य गंगाराम तिमिल्सिनाले पनि आफ्नो संगठनले फर्जी विद्यार्थी भर्ना गराएको स्वीकार गरे। आफ्नो संगठनलाई मात्र फर्जी विद्यार्थी भर्ना भएको आरोप लगाए सबै विद्यार्थी संगठनहरुले त्यस्तो भर्ना गराएको उनको भनाइ थियो।
|
0 comments
Write Down Your Responses