करोडौँका उपकरण तथा औषधि चोरी


डडेल्धुरा - मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) नामक गैरसरकारी संस्थाले डडेल्धुरास्थित टिम अस्पतालबाट करोडौँ उपकरण तथा औषधि चोरी गरेको रहस्य खुलेको छ। विगत पाँच वर्षदेखि टिम अस्पताल सञ्चालन गर्दै आएको एचडिसिएसले सरकारसँगको सम्झौता सकिएपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने करोडौँका उपकरण तथा औषधि चोरी निकासी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। चोरी निकासी भइरहेको रु पाँच लाख बराबरको औषधि केहीदिन अगाडि कैलाली प्रहरीले नियन्त्रणमा लिएको थियो भने चोरी निकासी गरी बझाङको बित्थडमा पुर्याअइएका करिब रु दुई करोड बराबरको उपकरण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चोरी निकासीमा संलग्न रहेको आरोपमा अस्पतालका पियन गोविन्द धामीलाई विगत पाँच दिनदेखि प्रहरी हिरासतमा राखिएको छ। उनले गरेको बयानका आधारमा चोरी निकासीमा संलग्नमाथि कानुनी अनुसन्धान सुरु भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सरकारसँगको सम्झौता अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने औषधि, उपकरण तथा उपकरणका महत्वपूर्ण पाटपुर्जा एचडिसिएसले संस्थागत रुपमै चोरी गरेको भेटिएको जिल्लास्थित सर्वपक्षीय टोलीले जनाएको छ। नेपाल सरकार र एचडिसिएसबीच टिम अस्पताल सञ्चालनका लागि भएको सम्झौता अवधि गत चैत १० गते सकिएको थियो। सम्झौता तथा कानुनी व्यवस्थाअनुसार अस्पतालमा रहेका उपकरण तथा औषधि एचडिसिएसले जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने थियो। एचडिसिएसका कार्यकारी निर्देशक डा तीर्थ थापाले भने कहिँकतैबाट त्यस्तो भएको भए पनि आफूलाई जानकारी नभएको बताए। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.