राप्रपा नेपाल र एमाओवादीको झगडाले झापा बन्द


२७ वैशाख, झापा । एनेकपा माओवादीका नेता हर्क खड्कालाई कुटपिट गरेपछि राप्रपा नेपालसमर्थित राष्ट्रिय युवा मोर्चाका अध्यक्ष अर्जुन कन्दङ्वा (लिम्बु)लाई झापा प्रहरीले अपहरणको आरोपमा विहीबार राति पक्राऊ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले शुक्रबार बिहानैदेखि झापा बन्दको आयोजना गरेका छन् । कन्दङ्वाका साथै राप्रपा नेपालका थप कार्यकर्तालाई प्रहरीले खोजी खोजी पक्राउ गरिरहेको राप्रपा नेता रविन चाम्लिङले अनलाइनखबरलाई बताउनुभयो । गिरफ्तारीको विरोधमा राप्रपा नेपालले राजेन्द्र लिङ्देनको नेतृत्वका काठमाडौंमा शुक्रबार विरोध प्रदर्शनको तयारी गरेको चाम्लिङको भनाइ छ । एमाओवादी नेता हर्क खड्काले कन्दङ्वाविरुद्ध अपहरणसम्बन्धी उजुरी दिएपछि कन्दङ्वा लगायतका कार्यकर्ताहरु पक्राउ परेका हुन् । पक्राउ परेकालाई छुटाउन माग गर्दै बन्दमा उत्रिएका कार्यकर्ताले चारआलीमा शुक्रबार बिहान ट्रकमा आगजनी गरेका छन् । काठ चोर्दा समातेको दाबी राप्रपा नेताहरुका अनुसार खड्काको टोलीले काठ चोरेर ३/४ वटा गाडामा भारततिर लैजाँदै गर्दा कन्दङ्वाको नेतृत्वमा राप्रपा नेपालका कार्यकर्ताले राति नै खड्कालाई घेराबारीमा समातेका थिए । उनलाई प्रहरीमा बुझाउन खोज्दा प्रहरीले आउन नसक्ने बताएपछि कार्यकर्ताले राजेन्द्र लिङ्देनलाई फोन गरी के गरौं भनेर सोधेका थिए । ती बूढा आर्थिक रुपमा पनि पीडित छन्, प्रहरीमा बुझयो भने कारबाही हुन्छ, त्यसैले छाडिदेओ भनेर कार्यकर्ताले निर्देशन दिएपछि राप्रपा नेपालका कार्यकर्ताले एमाओवादी नेता खड्कालाई फोटो खिचेर छाडिदिएको राप्रपा नेपालका कार्यकर्ताको कथन छ । पक्राउ गर्ने क्रममा हुलमुलमा पिटाइ खाएर खड्का घाइतेसमेत भएको राप्रपा नेपालका स्थानीय विभाग हेर्ने नेता चाम्लिङले अनलाइनखबरलाई बताउनुभयो । खड्कालाई घरैबाट उठाएर रातभरि जंगलमा राखियो : एमाओवादी उता एमाओवादीका कार्यकर्ताले भने घेराबारी गाविसका पूर्व अध्यक्ष एवं वनसमितिका स्थानीय वर्तमान अध्यक्ष रहेका खड्का काठ चोरेर भारत लैजाने चरित्रको व्यक्ति नभएको बताएका छन् । ‘उपभोक्तालाई बाँड्न अनुमति लिएर जंगलबाट निकालिएको काठलाई इण्डिया बेच्न लगेको भनी राप्रपा नेपालका कार्यकर्ताले आरोप लगाएका हुन्, खड्का त्यस्तो तस्करी गर्ने मान्छे होइनन् ।’- एक स्थानीय एमाओवादी कार्यकर्ताले अनलाइनखबरलाई भने । खड्कालाई राप्रपाका कार्यकर्ताले राति घरैबाट उठाएर चारकोसे जंगलका लगी रातभरि राखेर ३ बजे छाडिदिएको खड्कालाई उधृत गर्दै स्रोतले बतायो । राप्रपा कार्यकर्ताले भने ३ घण्टामात्रै नियन्त्रणमा लिएको दाबी गरेका छन् । नेकपा एमालेका तर्फबाट घेराबारी गाविसका पूर्वअध्यक्ष खड्काले गत संविधानसभा चुनावमा झापा क्षेत्र नं ५ बाट १५ हजार मत ल्याएर दोस्रो स्थान हासिल गर्नुभएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.