विद्यार्थी नेता भन्छन्- स्ववियु चुनाव होलाजस्तो छैन
काठमाडौं । जेठ २३ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएपछि अर्को चुनाव कहिले हुन्छ भन्ने अन्यौल बढेको छ । चारदलको उच्चस्तरीय समितिले संविधानसभाको चुनावको मितिबारे छलफल गर्न छाडेर स्ववियु चुनाव तोकिएकै मितिमा गरियोस् भन्दै रेग्मी सरकारसँग माग गर्न थालेको छ । आपसी सहमतिमा अर्को मिति तय गर्नुपर्ने बेला मुख्य विद्यार्थी संगठनहरु आरोप-प्रत्यारोपतिर लागेका छन् ।
फर्जी विद्यार्थी भर्नाको विषयमा एकीकृत माओवादी र नेकपा-माओवादीनिकट विद्यार्थी संगठनको विवादले चुनाव स्थगित भएको हुँदा पहिले उनीहरुबीच सहमति हुनुपर्ने अनेरास्ववियु र नेपाल विद्यार्थी संघको भनाइ छ । दुबै अखिल क्रान्तिकारी पनि चुनाव स्थगित हुनुको दोष आफूले लिन तयार छैनन् ।
चुनाव स्थगित हुनुको दोष विद्यार्थी संगठनले एक अर्कालाई लगाएका छन् । बिहीबार चुनाव स्थगितको निर्णय गर्ने बेला मुख्य चारवटै विद्यार्थी संगठनका प्रतिनिधि बैठकमा उपस्थित थिए । बैठकबाट बाहिरिए लगत्तै सबैले चुनाव स्थगितको बिरोध गरे । कति संगठनहरुले क्याम्पसमै प्रदर्शन गरे । ‘तर अब बिरोध गर्नुको पनि औचित्य देखिएन’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले भन्नुभयो-’अब सहमति गरेर छिटो अर्को चुनावको मिति तय गर्नुबाहेक अर्को विकल्प छैन ।’
कांग्रेसले चुनावमा ध्यान दिएन : नेबिसंघ
‘हामी त हदैसम्म लचिलो भएर प्रस्तुत भएका थियौं, तर दुई अखिल क्रान्तिकारीको विवादले चुनाव स्थगित भयो’ नेविसंघका नेता लेखनाथ पोखरेलले भन्नुभयो-’फेरि चाँडै चुनाव गर्न हामी लचक हुन तयार छौं ।’
आफ्नो संगठनले यसपटक धेरै क्याम्पसमा चुनाव जित्ने पक्का भएपछि अरु संगठनले फर्जी भर्ना गरेको उहाँले आरोप लगाउनुभयो । ‘हाम्रो माउ पार्टीले स्ववियु चुनावमा चासो नै दिएन, अरु संगठनका भने पार्टी नै लागेका थिए’ पोखरेलले भन्नुभयो-’जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले उनीहरुले फर्जी भर्ना गरे, जसको कारण चुनाव हुन सकेन ।’
दुई क्रान्तिकारीका आ-आफ्नै दाबी
एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीले फर्जी भर्ना गरेको भन्दै बैद्य माओवादी निकट अखिल क्रान्तिकारीले चारवटा क्याम्पसमा तालाबन्दी लगायो । यसपछि विवाद चर्कन थालेको हो । आफ्नो प्रभाव रहेको क्याम्पसमा तालाबन्दी भएपछि एमाओवादी निकट अखिल क्रान्तिकारीले पनि अरु क्याम्पसमा ताला लगायो । ‘चारवटा क्याम्पसमा मात्र विवाद थियो’ रसाइलीले भन्नुभयो-’उहाँहरुले अरु क्याम्पसमा पनि विवाद चर्काएपछि चुनाव हुन सकेन, यसमा हाम्रो होइन उहाँहरुको दोष छ ।’
एमाओवादी समर्थित अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा वैद्यपक्षीय क्रान्तिकारी र एमाले अखिलले स्ववियू चुनाव भाँडेको बताउनुहुन्छ । नेविसंघले चुनावमा बाधा नगरेको शर्माले बताउनुभयो । स्ववियुको चुनाव भएको खण्डमा आगामी संसिवधानसभाको चुनावको वातावरण बन्न भएकाले त्यसलाई भाँड्न वैद्य माओवादीले चुनाव भाँडेको शर्माको आरोप छ ।
‘स्ववियुको चुनाव भएमा वैद्य पक्षको देशैचरि शुन्य सीट आउँछ । एमाले अहिले पनि पहिलो स्थानमा नभएर तेस्रो स्थानमा र्झछ ।’ शर्माले दाबी गर्नुभयो, ‘त्यसैले एमाले र वैद्यपक्ष मिलेर तालाबन्दी गरेकाले चुनाव भाँडियो ।’ आफूहरुले फर्जी विद्यार्थी भर्ना नगरेको र सामुहिकरुपमा भर्ना गरिएको भेटिए खारेज गर्न शर्माले आग्रह गर्नुभयो ।
अब कसरी होला त चुनाव ?
नयाँ संविधानसभाको चुनाव गर्ने जिम्मा पाएका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी त्रिभुवन विश्वविद्यालयका कूलपतिसमेत हुनुहुन्छ । स्ववियुको चुनाव नै गर्न नसक्ने मान्छेले राष्ट्रिय चुनाव कसरी गर्न सक्छ भनेर प्रश्न गर्नेहरु धेरै छन् । ‘यो रेग्मीको प्रतिष्ठासित जोडिएको विषय हो’ नेविसंघका नेता लेखनाथ पोखरेलले भन्नुभयो-’त्यसैले उहाँले छिटो एउटा घोषणा गरेर चुनावको मिति तय गर्नुपर्छ ।’
तर अहिले स्ववियु चुनाव नहुनुमा विश्वविद्यालयको भन्दा पनि विद्यार्थी संगठनहरु मुख्य जिम्मेवार देखिएका छन् । फर्जी भर्नाको विषयमा सहमति नभएकै कारण चुनाव अन्योलमा परेको हो । ‘जतिसक्दो छिटो विद्यार्थी संगठनहरुबीच सहमति हुन्छ, त्यति छिटो चुनावको वातावरण बन्छ’ विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकूद शाखा प्रमुख गंगाबहादुर थापाले भन्नुभयो ।
तर, सहमतिका लागि विद्यार्थी संगठनहरु अझै छलफलमा जुटेका छैनन् । ‘शनिबारसम्म सहमति हुन सकेन भने यसवर्ष स्ववियुको चुनाव हुन सक्दैन’ नेविसंघका नेता पोखरेलले भन्नुभयो- ‘यसवर्ष स्ववियुको चुनाव हुने संभावना निकै कम छ, यो दुःखलाग्दो कुरा हो ।’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडा भने छिटो सहमति भएमा चुनाव हुनेमा ढुक्क हुनुहुन्छ । ‘२९ गतेसम्म सहमति भयो भने पनि चुनाव हुन्छ, नत्र यो वर्ष सम्भावना देखिँदैन’ खतिवडाले भन्नुभयो ।
वैद्यनिकट माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली पनि यसवर्ष चुनाव हुने सम्भावना देख्नुहुन्न । ‘भदौमा भयो भने हो, नत्र अर्को वर्ष लाग्छ’ रसाइलीले भन्नुभयो ।
0 comments
Write Down Your Responses