३२ तोला सुनसहित भारतीय नागरिक पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय, बागलुङले करिब ३२ तोला सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ग१ज ३१२० नम्बरको टयाक्सीमा बागलुङ आउँदै गरेका भारत पश्चिम बङ्गाल घर भएका ३८ वर्षीय निरञ्जन पौललाई ३२ तोला ६३ लाल सुनसहित मालढुङ्गा चेकपोस्टबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गएराति ११ बजेको समयमा पोखराबाट बागलुङ बजार आउँदै गरेका पौलले बिलबिना ठूलो परिमाणमा सुन लिएकाले चोरी पैठारी भएको आशङ्कामा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । ‘अहिले सुनको मूल्य घटबढ भइरहेकाले बैध सुन पाउन सहज छैन’ सापकोटाले भन्नुभयो ‘तर पौलले ठूलो मात्रामा बिना बिल सुन लिएको भेटिएकाले पक्राउ गरेका हौँ ।’
पक्राउ परेका पौलले भने आफूले कालीगढको काम गर्ने गरेको र बजारका साहुहरुको सुन लिने क्रममा आफूलाई पक्राउ गरिएको बताउनुभएको छ । ‘मैले पहिलेेदेखि नै विभिन्न सुनचाँदी व्यवसायीको सुन ल्याइदिने गरेको थिएँ’ पौलले भन्नुभयो, ‘त्यही क्रममा अहिले पनि विभिन्न साहुको सुन ल्याइदिएको हुँ ।’ तर, पौलले बजारका कुनकुन व्यवसायीको सुन ल्याइदिएको भन्नेबारे भने खुलाउनु भएको छैन । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ । ‘बिल पनि छैन, चोरी पैठारी भएको हाम्रो आशङ्का छ’ प्रहरी निरीक्षक सापकोटाले भन्नुभयो, ‘थप अनुसन्धान पछि आवश्यक प्रक्रियाअघि बढाइनेछ ।’ रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.