"एमालेलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाउनेछन् "– ओली


काठमाडौँ, १९ वैशाख । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केपी ओलीले संविधानसभाको निर्वाचनमा एमालेलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाउने दावी गर्नुभएको छ ।
नेपाल ट्र्ड युनियन महासङ्घ (जिफन्ट) ले १२४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रममा उहाँले एमाले पार्टी छ भनेर नदेख्नेलाई संविधानसभा निर्वाचनको परिणामले त्यो कुरा देखाउने छ भन्नुभयो ।
नेता ओलीले भन्नुभयो, “संविधानसभाको निर्वाचन हुन्छ, सबैजना निर्वाचनको वातावरण बनाउन लाग्नुस्, संविधानसभा निर्वाचनले मात्र पेसागत श्रमिकको हकअधिकार सुनिश्चित गर्न सक्छ ।”
उहाँले संविधानसभा निर्वाचन कात्तिक अन्तिम हप्ता वा मङ्सिर पहिलो हप्तामा हुने भन्दै वर्तमान सरकार निर्वाचन गराउनकै लागि निर्माण भएको हो भन्नुभयो ।
“संविधान लेख्न निर्वाचनमा लोकतान्त्रिक पार्टीहरूले बहुमत ल्याउनुपर्छ, अलोकतान्त्रिक शक्तिको बहुमत आए संविधान नलेखिने स्पष्ट छ” – नेता ओलीले थप्नुभयो ।
नेपालका दक्ष युवा जनशक्ति रोजगारीका लागि सस्तो ज्यालामा विदेशिनु दुःखद् भएको बताउँदै उहाँले नेपालमै काम गर्ने वातावरण बनाउन सक्नुपर्ने बताउनुभयो ।
नेता ओलीले मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन, समान कामको समान ज्याला पाउन गरिएका बलिदानीपूर्ण आन्दोलनले थुप्रै उपलब्धिहरू हासिल गर्न सकेको विचार राख्नुभयो ।
रोजगार केन्द्रित विकास नीति लागू गर्नुपर्ने, जननिर्वाचित सबै संस्थामा १० प्रतिशत प्रतिनिधित्वको प्रत्याभूति गर्नुपर्नेलगायतका मजदुरका माग जायज भएको र ती माग आजै मन्त्रिपरिषद्का अध्यक्षसमक्ष प्रस्तुत गर्ने समेत उहाँले जानकारी दिनुभयो ।
महासङ्घका अध्यक्ष विष्णु रिमालले मजदुरहरूले शोषित भएर काम गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मजदुरको अधिकारसम्बन्धी विभिन्न जनवादी गीतहरू समेत प्रस्तुत गरिएको थियो । सभाअघि महासङ्घले ¥यालीको समेत निकालेको थियो । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.