प्रचण्ड इटहरी पुग्दा कुमार फुदोङ लापत्ता
१९ वैशाख, इटहरी । एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु सुनसरीमा भेला भएका छन् । एमाओवादी नेताले धरानका पूर्वकम्युनिष्ट एवं पूर्वपञ्च बम देवान एवं एमालेका व्यापारी विजय डाँगालाई पार्टीमा भित्र्याउने निर्णय गरेको छ । बुधबार इटहरीमा आयोजित सभामा भाषण गर्दै एमाओवादी नेताहरुले आगामी चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबीसमेत गरेका छन् । तर, उनीहरुले दुई तिहाइ जित्ने दाबी गरिरहेकै ठाउँ सुनसरी क्षेत्र नं २ मा सभासदका पूर्वउमेद्वार कुमार फुदोङले भने प्रचण्डलाई ‘काम नलाग्ने नेता’ भन्दै एमाओवादी परित्याग गर्नुभएको छ । पहिले जितेको धरानका पूर्वसभासद् एवं पूर्व जनमुक्ति सेनाका कमान्डर किरण राईले पनि यतिबेला एमाओवादी छाडिसकेका छन् ।
‘प्रचण्डले भन्दै आएको पहिचानको कुरा देखावटी मात्रै रहेछ ।’ संविधानसभाका पूर्वउमेद्वार एवं नेपाली सेनाका पूर्वजर्नेल फुदोङले अनलाइनखबरसँग भन्नुभयो-’समयमात्रै बर्बाद गर्न एमाओवादीमा किन बस्ने ? त्यसैले मैले एमाओवादी छाडें ।’ एमाओवादी छाडेर आफूले ‘इन्डिजिनियस मंगोलाइज्ड रिपब्लिकन फोरम’ गठन गरेको फुदोङले बताउनुभएको छ । उहाँको नवगठित फोरममा केही पूर्वसुरक्षा अधिकारी, पाइलट र पूर्वराष्ट्रिय पञ्चायत सदस्यहरु समेत रहनुभएको छ । फोरममा नेपाल बाहिरका मंगोलबासीलाई पनि समेटिने फुदोङले बताउनुभएको छ ।
इटहरीसमेत समेटिएको सुनसरी क्षेत्र नं २ बाट अघिल्लो संविधानसभामा एमाओवादीका फुदोङले १२ हजार ८ सय ५ मत ल्याउनुभएको थियो । यो क्षेत्रबाट एमालेका धर्मराज निरौलाले १५ हजार ६ सय ३६ मत ल्याई फुदोङलाई जित्नुभएको थियो भने राप्रपाका नरेन्द्र चौधरीले ११ हजार मत ल्याउनुभएको थियो । फुदोङले स्थानीय जनजातिको समेत मत ल्याउनुभएको थियो भने अबको चुनाबमा फुदोङले छाडेपछि एमाओवादीको जातीय भोट काटिने अवस्था देखिएको छ । एकातिर फुदोङले छाडेको र अर्कातिर वैद्य समूह अलग भएको अवस्थामा एमाओवादीले सुनसरीमा निर्वाचन लड्नुपर्ने अवस्था छ । विगतमा एमाओवादीले सुनसरीका ६ सीटमध्ये धरानसमेतको सुनसरी १ मा मात्रै विजय हात पारेको थियो ।
धरानका एमाओवादी सभासद् किरण राई पनि एमाओवादी छाडेर वैद्य पक्षमा लागेका छन् । सुनसरी ३ र ४ नम्बरमा विगतमा एमाओवादीले चौथो स्थान हासिल गरेको थियो भने ५ नम्बर क्षेत्रमा पाँचौ स्थानमात्रै पाएको थियो । सुनसरी २ र ६ नम्बर क्षेत्रमा एमाओवादीले दोस्रो स्थान हात पारेको थियो । सुनसरीमा विगतमा एमालेले ३ सीट र मधेसी जनअधिकार फोरमले ३ सीट जितेको थियो । कांग्रेसले सुनसरीमा ०६४ को चुनाबमा एकसीट पनि जितेको थिएन ।
0 comments
Write Down Your Responses