बिहे होस् त यस्तो !
बिहेको मौसम छ, धेरै बिहेकै चटारोमा छन् ।
पैसा हुनेहरु कसरी उडाउने सोच्दैछन, नहुनेहरु जोहो गर्न घोत्लिंदैछन् ।
कति त दाइजो लिने र दिने हिसाब गर्दै पनि होलान् । विवाह जीवनको एउटा
अभिन्न पाटो हो । जुन जीवनको एउटा चरणमा पुगेपछि गरिन्छ । विवाहलाई नयाँ
जीवनको सुरुवात पनि भनिन्छ । तर, त्यो ‘नयाँ जीवन’ थाल्ने सबैका आ-आफ्नै
शैली छन् । कसैलाई रबाफ मनपर्ला, कतिलाई नपर्ला । परम्परा, संस्कृति र
कुलघरानाको आडम्बरमा बिहेबारीजस्ता हाम्रा रितिथिति महंगा, भडकिला र उडन्ते
बनिरहेका छन् । यद्यपि समाजमा यस्ता पनि बिहे छन् या हुन्छन्, जुन समाजका
लागि एउटा गतिलो पाठ बनेर उभिने गर्छ । या समाजले साँच्चिकै गर्व गर्न लायक
हुन्छ ।
चितवन शुक्रनगर- ३ का दीपेन्द्र सुवेदी र
भरतपुर- ६, आनन्दपुरकी गीता समाजका यस्तै एक पात्र हुन्, जसले विवाहमा
संकलन भएको रकमलाई गरिब र जेहेन्दार लालाबालाको शिक्षामा खर्च गर्ने निर्णय
गरे । जर्मनीमा मगनी र चितवनमा ०६७ सालमा बिहे गरेको यो जोडीलेे चाहेमा
भव्य रुपमा बिहे गर्न सक्थ्यो । दीपेन्द्र जन्ती गए, भोजमा सहभागी पनि भए,
तर दाइजो भने लिएनन् । बरु, मगनीका क्रममा जर्मनीमा केही साथीले उपहार
स्वरुप दिएको रकमबाट चार लाख संकलन भयो । त्यसैलाई ‘दीपेन्द्र गीता शिक्षा
कोष’मा परिणत गरी गरिब, जेहेन्दार बालबालिकाहरुलाई शिक्षाको ज्योति दिलाउने
अभिभारा बोक्यो यो जोडीले ।
भड्किलो बिहे गर्नुको सट्टा बिहे
खर्चबापतको रकम र आफन्त तथा शुभेच्छुकबाट प्राप्त चार लाख रुपैंयाको
उपहारलाई कोषको रुपमा परिणत गर्नु नै महानता हो । कोषको रकम अहिले अहिले ६
लाख पुगेको छ, जसबाट बर्सेनी चितवनको शुक्रनगर र आनन्दपुर आसपासका सरकारी
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबापत
शैक्षिक सामाग्री, पोशाक, विद्यालय शुल्क प्रदान गरिंदै आएको छ । गतबर्ष
कोषबाट ३८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो, यसबर्ष थप ४७ जनाले
छात्रबत्तिको सौभाग्य पाए ।
शिक्षा तथा रोजगारीका सिलसिलामा हाल
दीपेन्द्र र गीता जर्मनी बस्छन्, कोषलाई व्यवस्थित रुपमा संचालन तथा
विद्यार्थी छनौट र छात्रवृत्ति वितरणका लागि दीपेन्द्रका पिता शिवराज
सुवेदीको संरक्षकत्वमा पाँच सदस्यीय समिति क्रियाशिल छ । कोषको कार्यलाई
व्यवस्थित गर्न एक महिनाअघि नेपाल आइपुगेका दीपेन्द्र भन्दै थिए – ‘यो नै
जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।’
हुनत दीपेन्द्र एक सामान्य नागरिक हुन् ।
मातृभूमिबाट विरक्तिदैं ‘उज्ज्वल भविष्य’ खोज्न विदेशी भूमिमा पुग्ने एक
प्रतिनिधिपात्र पनि हुन । तर, धन भन्दा पनि मन छ, देशकै लागि के गर्ने
इच्छाशक्ति छ । त्यसैले बिहेको पहिलो बाषिर्कीको दिन पनि कहीँ घुम्न र
रमाइलो गर्न होइन, कोषकै रकम बृद्धि गर्ने अभियानमा जुटे । एकदमै नजिकका
साथीभाइ र इष्टमित्रलाई लागि बोलाएर कार्यक्रम गरे । तीन सय युरो अर्थात
करिब ३० हजार रुपैंया जुटाए । जसबाट थप तीन चार जना बालबालिकाले कखरा
सिक्ने बाटो खुल्यो । सायद आनन्द त्यसैमा हुन्छ, जुन काम दिलैबाट गरिएको
हुन्छ । र, प्रशंसा पनि त्यसैमा पाइन्छ, जुन समाजका लागि सर्वस्वीकार्य
हुन्छ ।
जर्मनीमा एकबिहानै आफ्नै रेष्टुरेण्टमा
बसिरहँदा सिन्धुपाल्चोकका एकजना मित्रले बिहानै दीपेन्द्रको छातीमा समाते ।
दीपेन्द्र अचम्म परे । केही गल्ती नै गरिएछ कि भन्ने महसुस पनि भयो, उनलाई
। तर, जब ती साथीले चिच्याउँदै स्याबासी दिँदै गला मिलाए, तब थाहा भयो,
जर्मनीको लोकपि्रय अर्धसाप्ताहिक पत्रिकाको मुख्य समाचार थिए दीपेन्द्र
। गत साता काठमाडौंमा भेटिएका दीपेन्द्र भन्दै थिए – स्थानीय स्टाट आनचाइगर
पत्रिकाको प्रथम पृष्ठमा फेवातालमा खिचिएको दम्पत्तीको फोटो थियो ।
त्योसँगै सामाजिक कामको विवरण थियो, गरिबीका विरुद्ध शीर्षकमा ।’ दीपेन्द्र
जर्मनीका अधिकांश पत्रिकाको हेडलाइन बनिरहे । वाज नामक दैनिकले त पूरा
पृष्ठ नै छाप्यो । जर्मनीमा सामाजिक कार्य गर्ने दीपेन्द्र एक्ला नेपाली
हैनन्, तर दीपेन्द्रले यसकारण लोकपि्रय पाए कि उनले आफ्नै निजी रकमबाट समाज
सेवा थाले ।
समाजमा सबैले दीपेन्द्रले जसरी नै बिहे
गर्नुपर्छ भन्ने होइन, भोजभतेर बन्द गरेर छात्रवृत्तिमै खर्चिनुपर्छ भन्ने
पनि पटक्कै होइन । तर, दिलैदेखि चाहने हो भने असल कार्य गर्न कसैले छेक्दैन
। बिहेलाई जीवनको नयाँ सुरुवात मात्रै होइन, सत्कर्मको नयाँ मार्ग पनि
बनाउन सकिन्छ । सयौं बोतल मदिराको खोलो बगाउँदैमा र दर्जनौं खसी काटेर
भडकिलो बिहे गरेर केहीदिन खोक्रो रबाफ त दिन सकिएला, अधिकंाश नेपालीको
बिहेपनि त्यस्तै हुनेगर्छ । बरु, थोरै रकम नै किन नहोस, सामाजिक कार्यमा
लगाउन सके त्यसले समाजमा केही न केही नयाँ योगदान त दिन्छ ।
विवाह एउटा सामाजिक सम्झौता हो । साँघुरो
घेराभित्र कोचेर राखेकै कारण समाजमा यौनजन्य अपराध, हत्या र हिंसाका
घटनाहरु दोहोरिइरहेका छन् । विवाहमा दाइजो नपाएकै कारण लगनगाँठो टुट्ने र
मृत्युवरण नै सहनुपर्ने हामी नेपालीको यो भन्दा ठूलो राष्ट्रिय बेइज्जती के
नै होला र ? तसर्थ, हाम्रा धर्म, संस्कृति र परम्परामा पनि फरक ढंगले
सोचिन आवश्यक छ । कुनैबेला परम्परा र संस्कारले समाजलाई डोर्याउँथ्यो । तर
अब समाजले यी कुरालाई परिमार्जित गर्दै लैजानुपर्छ । समाज भनेको वर्तमान
हो, हामीले सधैं परम्परालाई मात्र पछयाउँदै हिँड्नुपर्छ भन्ने छैन ।
समाजमा केही त्यस्ता व्यक्तिमात्रै
हुन्छन्, जो सदैव अमर रहन्छन् । किनकि उनीहरुले आफ्नो खोक्रो रबाफ र
स्वार्थ हेर्दैनन । समाज परिवर्तनमा टेवा पुर्याउँछन् । र, मानव हुनुको
एउटा सच्चा धर्म निर्वाह गर्दछन् । असल कार्य गर्नेका लागि सँधै ढोका
खुल्ला रहन्छ । विरोध गर्नेका लागि टन्टलापुर दिन पनि चकमन्न रातसरह नै
हुन्छ । किनकि उसले केवल अँध्यारो मात्रै देखेको हुन्छ । जसले आफैभित्र
उज्ज्यालो देख्छ, उसले अरुलाई पनि उज्ज्यालो दिन सक्छ । अरुलाई उज्ज्यालो
देखाउनेहरु नै खासमा मानव हुन्, त्यही मानवीय धर्म हो ।
|
0 comments
Write Down Your Responses