सारापोभाको हार, धेरैलाई चोट !
लन्डन – तेस्रो वरियताका मारिया सारापोभा विम्बल्डन ओपनको दोस्रो चरणबाटै बाहिरिएकी छन्। चोटका कारण शीर्ष वरियताका खेलाडीलाई पिरोलेको बुधबारको दिन रुसी स्टार सारापोभा पोर्चुगलकी छनोट खेलाडीसँग सोझो सेटमा पराजित भइन्।
२००४ की च्याम्पियन सारापोभा १३१औं वरियताकी मिचेल लार्चेर डी बिर्तोसँग ६–३, ६–४ ले पराजित भइन्। दोस्रो वरियताकी भिक्टोरिया अजारेन्कासहित पाँच खेलाडी चोटका कारण विम्बल्डनबाट बाहिरिएका छन्।
घाँसे कोर्टमा प्रतियोगिता तेस्रो दिन चलिरहँदा बुधबार नतिजाभन्दा खेलाडीको चोटले बढी ध्यान तान्यो। अजारेन्कासहित राफेल नाडाललाई पहिलो चरणमै स्तब्ध पार्ने स्टिभ डार्सिस र टेनिस इतिहासकै सबैभन्दा लामो खेल जित्ने कीर्तिमान बनाएका अमेरिकी खेलाडी जोन इस्नरलगायतका खेलाडीले चोटका कारण विम्बल्डन यात्रामा पूर्णविराम लगाए। बायाँ घुँडाको चोटका कारण १०औं वरियताका मारिन सिलिक र २००६ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका राडेक स्टेफानेकले पनि प्रतियोगिता नखेल्ने निर्णय लिनुपर्यो। स्टेफानेकले बायाँ ह्यामस्ट्रिङको समस्याका कारण प्रतियोगिता त्याग गरेका हुन्।
प्रतियोगिताले २००२ का विजेता लेट्टोन हेविटलाई पनि गुमायो। हेविटले भने चोटका कारण नभई हारका कारण प्रतियोगिताबाट बाहिरिनुपरेको हो। अस्ट्रेलियाली स्टारलाई १ सय ८९औं वरियताका जर्मन छनोट खेलाडी डस्टिन ब्राउनले ६–४, ६–४, ६–७ (३), ६–२ को नतिजामा निराश पारेका थिए। २०१० मा जमैकाको राष्ट्रियता परित्याग गरेका ब्राउनले पूर्व विश्व नम्बर एक खेलाडीलाई हराएपछि खुसीमा आँसु निकालेका थिए। २०१३ मा खास गरी तल्लो श्रेणीका सर्किट खेल्दै आएका उनले विम्बल्डनमा यो वर्षभन्दा पहिला एउटै खेल जित्न सकेका थिएनन्।
दुईपल्टकी अस्ट्रेलियन ओपन च्याम्पियन अजारेन्काले पहिलो चरणमा मारिया जोआओ कोएल्हरसँगको खेलमा दायाँ घुँडामा चोट बोकेकी थिइन्। उनले चोटका कारण फ्लाभिया पेनेटाविरुद्ध दोस्रो चरणको खेल हुन केहीबेरअघि मात्र प्रतियोगिता परित्याग गरेकी थिइन्। पछिल्ला दुई वर्षअघि अजारेन्का विम्बल्डनको सेमिफाइनल पुगेकी थिइन्।
त्यस्तै १ सय ३५औं वरियताका बेल्जियन खेलाडी डार्सिसले सोमबार दुईपल्टका च्याम्पियन नाडाललाई सोझो सेटमा निराश पारेका थिए। विम्बल्डन इतिहासकै ठूलो स्तब्ध नतिजामध्ये एक सम्भव पारेका डार्सिसको दायाँ काँधमा चोट लागेको थियो। यसैगरी १८औं वरियताका अमेरिकी इस्नरले घुँडाको चोटका कारण फ्रान्सका एड्रियान मानारिनोविरुद्ध दोस्रो चरणको खेल चलिरहँदा कोर्ट छोडेका थिए।
महिलातर्फ बुधबार पूर्व विश्व नम्बर एक अना इभानोभिचले प्रतियोगिताको दोस्रो चरणबाट बिदा लिएकी छन्। १२औं वरियताकी सर्बियाली खेलाडीलाई क्यानाडाकी इयुजिन बौचार्डलेे ६३ मिनेटमा ६–३, ६–३ को सोझो सेटमा निराश पारेकी थिइन्।
फ्रान्सेली छैटौं वरियताप्राप्त जो वि्रल्फाइड सोंगाले पनि दोस्रो चरणको खेल बीचमै त्याग्नुपरेको छ। घुँडाको चोटका कारण लाट्भियाका इर्नेट्स गुल्बिससँग पूरा खेल्न सकेनन्। पहिलो सेट ६–३ ले जितेका उनले पछिल्लो दुई सेट गुमाए। उनले निर्णायक सेट खेल्न सकेनन्। महिलामा नवौं वरियताकी डेनमार्क कारोलिन वोज्निआकी चेक गणतन्त्रकी पेट्रा चेट्कोस्कासँग ६–२, ६–२ ले पराजित भइन्।
|
0 comments
Write Down Your Responses