७ लाख नतिरेसम्म पप्पुले धरान छाड्न नपाउने
धरान । राष्ट्रिय चलचित्र महोत्सव लथालिङ्ग भएर सकिए पनि चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता पप्पुलाई भने स्थानीय आयोजकले धरानका होटलहरुको बाँकी नतिरेसम्म फर्किन नदिने भएका छन् । विभिन्न होटलमा बसेको र खाएको गरी जम्मा करिब ७ लाख रुपैयाँ तिर्न बाँकी छ ।
स्थानीय स्तरबाट १० लाख रुपैयाँ उठाउने भनिए पनि जम्मा ३४ हजार ५ सय मात्र उठेको छ । बोर्डले नतिरेपछि आफूलाई अफ्ठ्यारो पर्ने भन्दै स्थानीय आयोजक सदस्यहरुले पैसा नतिरेसम्म धरानबाट हिँड्न नदिने बताएपछि पप्पु यतिबेला धरानमै छन् ।
पप्पुलाई पैसा तिरेर मात्रै धरान छाड्न भनेको अनामका सदस्य सुवास थापा बताउँछन् । उनले भने ‘यहाँ हुँदै मोबाइल अफ हुन्छ, भोलि के हो के हो, त्यसैले तिर्नू अनि धरान छाड्नू भनेका छौं ।’
आइतबार पप्पु मोबाईल अफ गरेर हराएपछि स्थानीय आयोजक रिसाएका हुन् । उनीहरुले बोर्डले अनामलाई प्रयोग मात्र गरेको गुनासो गरेका छन् । महोत्सवका लागि निर्माण गरेको मञ्चका लागि १ लाख ४० हजार खर्च भएको छ भने साउण्ड सिष्टमको ७५ हजार, स्वागतद्वार निर्माणमा २५ हजार तथा ब्यानर र पोष्टरमा १ लाख २८ हजार खर्च भएको बताइएको छ । त्यसबाहेक बोर्डले काठमाण्डौबाट ३ वटा गाडीको प्रतिगाडी जम्मा १ लाख दिने गरी ल्याएको बताइएको छ ।
कलाकार, निर्माता निर्देशक, प्राविधिक संघका गरी जम्मा १ सय ४३ जना काठमाण्डौबाट आएका मध्ये २८ जना प्लेनमा र बाँकी बसमा आएका थिए । बसमा मध्यरातमा धरान आइपुगेकाहरुको सुरुदेखि नै बिजोग भएको थियो । रातिसम्म भानुचौकमा अलपत्र परेकाहरु कोही सानो कोठामा खाँदिएर सुतेका थिए भने प्राविधिक संघका सदस्यहरु आफ्नै खर्चमा कञ्चनजंगा होटलमा पुगेर सुतेका थिए । महोत्सव सुरु भएको दिन शनिबारदेखि नै निर्माता, निर्देशकले व्वस्थापन बहिस्कार गर्दै आफ्नै खर्चमा खाने र बस्ने व्यवस्था गरेका थिए ।
स्थानीय आयोजका अनुसार करिब १० लाखमा सम्पूर्ण महोत्सव सम्पन्न भएको छ । तर, बोर्ड अध्यक्ष पप्पुले १३ लाख जति खर्च भएको बताएका छन् ।
हुन त महोत्सवको तयारीमा एक महिना अघिदेखि नै आएका बोर्ड सदस्य नीलहरी काफ्ले र वीचमा आएका पप्पुले धरानका वेलकम, खुस्बु, रत्नाइन लगायतका होटलमा दैनिक रक्सी खाने गरेका थिए । कार्यक्रमको तयारी भन्दा पनि रक्सी पिउन व्यस्त उनीहरु मोज मज्जामै भुलिँदा महोत्सवको अघिल्लो रातसम्म के-के कार्यक्रम गर्ने भन्ने तालिका नभएको गुनासो स्थानीय कलाकारहरुको छ । रातभर लगाएर बनाएको तालिकामा धेरै गडबढ भएपछि कार्यक्रमस्थलमै स्थानीय कलकारसँग आयोजकको झण्डै कुटाकुट भयो भने कति बेला के कार्यक्रम हुने भन्ने कसैलाई थाहा नहुँदा महोत्सव औपचारिकतामा मात्र सीमित बन्यो ।
धरानका २ वटा हलमा ४ वटा फिल्म प्रदर्शन गरिने कार्यक्रम भए पनि कतिबेला कुन चलचित्र प्रदर्शन भयो, अधिकांशले पत्तै पाएनन् । लथालिङ बन्दै सकिएको महोत्सवले धरानको बेइज्जत मात्र गरेको भन्दै धरानवासीहरु भने दुःखी बनेका छन् ।
0 comments
Write Down Your Responses