७ लाख नतिरेसम्म पप्पुले धरान छाड्न नपाउने
धरान । राष्ट्रिय चलचित्र महोत्सव
लथालिङ्ग भएर सकिए पनि चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता
पप्पुलाई भने स्थानीय आयोजकले धरानका होटलहरुको बाँकी नतिरेसम्म फर्किन
नदिने भएका छन् । विभिन्न होटलमा बसेको र खाएको गरी जम्मा करिब ७ लाख
रुपैयाँ तिर्न बाँकी छ ।
स्थानीय
स्तरबाट १० लाख रुपैयाँ उठाउने भनिए पनि जम्मा ३४ हजार ५ सय मात्र उठेको छ
। बोर्डले नतिरेपछि आफूलाई अफ्ठ्यारो पर्ने भन्दै स्थानीय आयोजक
सदस्यहरुले पैसा नतिरेसम्म धरानबाट हिँड्न नदिने बताएपछि पप्पु यतिबेला
धरानमै छन् ।
पप्पुलाई पैसा तिरेर मात्रै धरान छाड्न
भनेको अनामका सदस्य सुवास थापा बताउँछन् । उनले भने ‘यहाँ
हुँदै मोबाइल अफ हुन्छ, भोलि के हो के हो, त्यसैले तिर्नू अनि धरान छाड्नू
भनेका छौं ।’
आइतबार पप्पु मोबाईल अफ गरेर हराएपछि
स्थानीय आयोजक रिसाएका हुन् । उनीहरुले बोर्डले अनामलाई प्रयोग मात्र गरेको
गुनासो गरेका छन् । महोत्सवका लागि निर्माण गरेको मञ्चका लागि १ लाख ४०
हजार खर्च भएको छ भने साउण्ड सिष्टमको ७५ हजार, स्वागतद्वार निर्माणमा २५
हजार तथा ब्यानर र पोष्टरमा १ लाख २८ हजार खर्च भएको बताइएको छ । त्यसबाहेक
बोर्डले काठमाण्डौबाट ३ वटा गाडीको प्रतिगाडी जम्मा १ लाख दिने गरी
ल्याएको बताइएको छ ।
कलाकार, निर्माता निर्देशक, प्राविधिक
संघका गरी जम्मा १ सय ४३ जना काठमाण्डौबाट आएका मध्ये २८ जना प्लेनमा र
बाँकी बसमा आएका थिए । बसमा मध्यरातमा धरान आइपुगेकाहरुको सुरुदेखि नै
बिजोग भएको थियो । रातिसम्म भानुचौकमा अलपत्र परेकाहरु कोही सानो कोठामा
खाँदिएर सुतेका थिए भने प्राविधिक संघका सदस्यहरु आफ्नै खर्चमा कञ्चनजंगा
होटलमा पुगेर सुतेका थिए । महोत्सव सुरु भएको दिन शनिबारदेखि नै निर्माता,
निर्देशकले व्वस्थापन बहिस्कार गर्दै आफ्नै खर्चमा खाने र बस्ने व्यवस्था
गरेका थिए ।
स्थानीय आयोजका अनुसार करिब १० लाखमा
सम्पूर्ण महोत्सव सम्पन्न भएको छ । तर, बोर्ड अध्यक्ष पप्पुले १३ लाख जति
खर्च भएको बताएका छन् ।
हुन त महोत्सवको तयारीमा एक महिना अघिदेखि
नै आएका बोर्ड सदस्य नीलहरी काफ्ले र वीचमा आएका पप्पुले धरानका वेलकम,
खुस्बु, रत्नाइन लगायतका होटलमा दैनिक रक्सी खाने गरेका थिए । कार्यक्रमको
तयारी भन्दा पनि रक्सी पिउन व्यस्त उनीहरु मोज मज्जामै भुलिँदा महोत्सवको
अघिल्लो रातसम्म के-के कार्यक्रम गर्ने भन्ने तालिका नभएको गुनासो स्थानीय
कलाकारहरुको छ । रातभर लगाएर बनाएको तालिकामा धेरै गडबढ भएपछि
कार्यक्रमस्थलमै स्थानीय कलकारसँग आयोजकको झण्डै कुटाकुट भयो भने कति बेला
के कार्यक्रम हुने भन्ने कसैलाई थाहा नहुँदा महोत्सव औपचारिकतामा मात्र
सीमित बन्यो ।
धरानका २ वटा हलमा ४ वटा फिल्म प्रदर्शन
गरिने कार्यक्रम भए पनि कतिबेला कुन चलचित्र प्रदर्शन भयो, अधिकांशले पत्तै
पाएनन् । लथालिङ बन्दै सकिएको महोत्सवले धरानको बेइज्जत मात्र गरेको भन्दै
धरानवासीहरु भने दुःखी बनेका छन् ।
|
0 comments
Write Down Your Responses