भागेकी छोरीको हत्या 'बाबुले गराए'
राजविराज - छिमेकी युवकसँग प्रेम गरेर भागेको निहुँमा बाबुले नै 'कन्ट्र्याक्ट किलर' लगाएर छोरीको हत्या गरेको अनुसन्धानमा खुलेको छ। छोरीको हत्या आशंकामा पक्राउ परेका सप्तरी बथनाहा–७ का चन्द्रिका राउतले प्रहरीसँग बयानमा छोरीको हत्या स्विकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले नागरिकलाई बताए। सप्तरी प्रहरी प्रमुख डिएसपी श्यामसिंह चौधरीले प्रहरी घटनाको जरोसम्म पुगेको बताए। 'दोषीसम्मै पुगिसक्यौं, एकदुई दिनमै पत्रकार सम्मेलन गरी सबै कुरा सार्वजनिक गर्छौं।' 'शंकाकै आधारमा रुबीका बुबालाई पक्राउ गर्यौं्,' उनले भने, 'त्यसपछि थुप्रै तथ्य फेला पारिएको हो।' हत्यामा संलग्न मोहन साहलाई प्रहरीले पक्राउ गरिसकेको छ भने एक फरार छन्। स्थानीय बजरंगी निमाविमा कक्षा ८ मा अध्ययनरत रुबी गत चैत ३ गते छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसँग भागेकी थिइन्। केटा र केटी दुवै परिवारको संयुक्त पहलमा घर फर्काइएपछि बसेको पञ्चायतले केटा पक्षलाई ५० हजार क्षतिपूर्ति दिने सर्तमा घटना सामसुम पारेको थियो। प्रहरीका अनुसार तल्लो जातसँग भागेको घटनाबाट तनावमा रहेका राउतले थप अपमानित हुनु नपरोस् भनेर रुबीलाई दरभंगास्थित फुफूको घर पठाएका थिए। लगत्तै आफूले हत्याको योजना बुन्न थालेको चन्द्रिकाले बयान दिएको अनुसन्धानरत प्रहरीले जनाए। 'आफ्नै छोरी हत्याका लागि हत्याराको बन्दोबस्त भइसकेपछि चन्द्रिकाले छोरीलाई दरभंगाबाट सप्तरीको रम्पुरामल्हनियाँस्थित मामाघर ल्याएर राखेँ,' अभियुक्त चन्द्रिकालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक रत्न पौडेलले भने, 'मामाघरमा दुई दिन राखेपछि घर जाऊँ भनेर दुईजना अपरिचितको पछि लगाइदिएँ। एक्लै जान नमानेपछि जाँदै गर, म पछि आउँछु भनेर पठाएँ।' प्रहरीका अनुसार रम्पुरामल्हनियाँबाट रुबीलाई लिएर निस्केका ती दुई अपरिचितले केही घन्टापछि कोसी नदीको पश्चिम तटबन्धछेउ सुनसान ठाउँमा रुबीको घाँटी रेटी हत्या गरेका थिए। उनीहरुले रातारात शव कोइलाडी– ९ चट्टीटोलस्थित नहरछेउ ल्याएर आधा जलाएर फालिदिएको प्रहरी भनाइ छ। शव उठाउन घटनास्थल पुगेका एक प्रहरीले भने, 'शवको नजिकै खाने तेलको बोतल थियो, सुँघ्दा पेट्रोलको गन्ध थियो।' जलेको शव चार दिनसम्म पहिचान भएको थिएन। हत्यारालाई रुबीको हत्याबापत बुबा चन्द्रिकाले १५ हजार रुपैयाँ दिएको अनुसन्धान क्रममा प्रहरीसमक्ष चन्द्रिकाले स्विकारेका प्रहरीस्रोतको भनाइ छ। कोइलाडी रम्पुरामल्हनियाँबाट दुई किलोमिटर पश्चिम–उत्तर पर्छ।
0 comments
Write Down Your Responses