दाहालको हत्या गर्ने योजना बनाएको आरोपमा २ जना पक्राउ
काठमाडौं– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको हत्या षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ परेका छन्। बर्दियामा दाहालले सम्बोधन गर्ने आमसभास्थलमा प्रेसरकुकर बम राख्ने षड्यन्त्रमा संलग्न रहेको अभियोगमा नेकपा माओवादी (क्रान्तिकारी) का इन्द्रकुमार चिमोरिया र विष्णु खड्का काठमाडौंमा पक्राउ परेका हुन्। कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले त्यहाँ बम राखेको सूचना पाएकाले कुनै दुर्घटना भने हुन पाएन। प्रेसरकुकर बम निष्त्रि्कय बनाएपछि प्रहरीले सोही पार्टीका बिर्खबहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धर्वलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुबाट पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको थियो। अनुसन्धानको क्रममा उनीहरुले दाहाल हत्याको योजनासहित कार्यक्रमस्थलमा विष्फोटक पदार्थ राखेको बयान दिएको प्रहरी दाबी छ। अनुसन्धानले खड्का र चिमौरिया बागमती क्षेत्रमा सक्रिय रहेको र बबरमहलमा बम राख्ने तथा कान्तिपुर पब्लिकेशनको गाडी जलाउने घटनामा संलग्न रहेको देखाएपछि प्रहरीले खोज्न थालेको थियो। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बिहीबार उनीहरुलाई चावहिलामा पक्राउ गरेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले थप अनुसन्धानका लागि दुवैलाई आतंकवादसम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरोमा बुझाएको छ। अनुसन्धान अधिकारीका अनुसार बबरमहलमा सरकारी वकिलको कार्यालयअगाडि बम राख्ने पनि उनीहरु नै हुन्। पक्राउ परेका खड्का क्रान्तिकारीको काठमाडौं जिल्ला सेक्रेटरी रहेको खुलेको छ भने चिमौरिया सदस्य हुन्। उनीहरु काठमाडौंमा बसेर पार्टीको नाममा जबर्जस्ती रकम असुली र विध्वंसात्मक घटनामा सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी अधिकारीका अनुसार खड्काले काठमाडौंमा मासु पसल चलाउँदै आएका थिए। आवरणमा व्यापारी भए पनि उनी क्रान्तिकारीको नाममा व्यापारीसँग रकम असुल्न र बम राख्न सक्रिय रहेको खुलेको छ। संविधानसभा भवनअगाडि बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका उनी कैद सजाय भुक्तान गरेर रिहा भएपछि पुन विध्वंसात्मक गतिविधिमा सक्रिय भएका थिए।
0 comments
Write Down Your Responses