मासिक तलब १५ हजार नपुर्‍याए देशभरका उद्योग ठप्प पार्ने चेतावनी

विराटनगर — अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी सरकारले हालै मजदुरका लागि निर्धारण गरेको पारिश्रमिक अमान्य रहेको बताएको छ। सरकारले मजदुरको मासिक पारिश्रमिक रु आठ हजार र दैनिक रु ३१८ कायम गरेकामा महासङ्घले मजदुरको मासिक पारिश्रमिक रु १५ हजार र दैनिक रु ७०० कायम हुनुपर्ने माग गरेको महासङ्घका संयोजक रामदीप आचार्यले जानकारी दिए। उनले दिन प्रतिदिन बढ्दै गएको महँगीले परिवार सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्थामा र युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन पनि मजदुरको तलब बढ्नुपर्ने कुरामा जोड दिए। आफ्ना मागहरु पाँच दिनभित्र पूरा नभए यही जेठ २३ र २४ गते दुई दिन देशभरका उद्योग कलकारखाना बन्द गर्ने घोषणा महासङ्घले गरेको छ। चैत ११ गते मन्त्रिपरिषद्का अध्यक्षलाई मजदुरका समस्या अवगत गराउँदै २५ बुँदे मागपत्र बुझाएको थियो। त्यसपछि सरकारले मासिक न्युनतम तलब ८ हजार रुपैयाँ निर्धारण गरेको थियो। नेकपा-माओवादीको मजदूर संगठन महासंघले यसको विरोध गर्दै १५ हजार न्युनतम तलब हुनुपर्ने अडान राख्दै आएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.