सम्पूर्ण किशोरीहरूलाई पत्र
डा. अरुणा उप्रेती
प्रिय किशोरी तथा बहिनीहरू !
तिमीहरूमध्ये कतिले त पढाईमा ध्यान दिएकै
छौ र शिक्षकहरूबाट प्रेम पनि पाइरहेका छौ होला । विशेष गरी नौ र दश कक्षामा
पढाईको चाप बढी हुन्छ र त्यही बेलामा किशोरीहरूलाई घरधन्दा पनि बढी
गर्नुपर्ने हुन्छ । कतिका परिवारका सदस्यले त पढ्नुपर्छ भनेर जाँचको बेलामा
र अन्य बेलामा पनि कामको चाप कम गराउँछन् होला । कति जनाको घरमा भने पढेर
के हुन्छ र ?, अर्काको घरमा जाने त हो नि झ् भनेर “भो पछि पढेहुन्छ, यति
पानी लिएर आइज, वा भाईबहिनीलाई भात पकाऊ”, भनेर पढाईको समयमा पढ्न नदिएका
पनि होलान् । यति हुँदाहुँदै पनि किशोरीहरूले स्कूलमा पढाई धानिरहेकै छन् ।
दश कक्षा र एसएलसी राम्रोसँग पास भइरहेकै छन् । तर, कहिलेकाहीँ
किशोरीहरूमा कक्षामा असफलल हुँदा (विशेष गरी एसएलसीमा असफल हुँदा)
आत्महत्या समेत गर्ने प्रवृत्ति पनि देखापरेको छ । किशोरीहरू झ् तिमीहरूले
के बुझ्नुपर्छ भने परीक्षामा एकचोटि असफल हुँदा दिन्दगी नै खतम भयो भन्ने
विचार कहिल्यै गर्नुहुँदैन । उखानै छ, “घोडा चढ्ने लड्छ” ।
परीक्षामा
असफल हुँदैमा, अब त जिन्दगीको सबै कुरा सिद्धियो, विष खाएर आत्महत्या
गर्छु भन्यौ र त्यसो गर्यौ भने तिमीहरूले आफ्ना परिवारलाई झन् ठूलो दुख पो
दिन्छौ त । स्याङजामा नीशा (नाम फेरिएको) नामकी किशोरी ग्रामीण स्वास्थ्य
शिक्षा सेवा गुठी अन्तर्गत छात्रवृत्ति पाएर पढिरहेकी थिइन् । तिनले बढी
मेहनत गरेकी थिइन्, स्कूल जान । सानैमा पोलियो भएकाले उनलाई आमाले बोकेर
स्कूल पुर्याउँथिन् । एसएलसी पास गरेपछि नीशाले उच्च शिक्षा अध्ययन गरी
शिक्षिका बन्ने इच्छा राख्थिन् । उनलाई छात्रावृत्ति दिने संंस्थाले उनको
अध्ययन सकिएपछि स्कूलमा नै शिक्षिकाको काम मिलाइदिने भनेर छलफल गरिरहेको
थियो । नीशाले पोलियोलाई जितेर एसएलसी जाँच दिइन् । मेहनत गर्दागर्दै पनि
उनी फेल भइन् । पोलियो जस्तो भयानक रोगले पीडित भए पनि बडो साहस गरेर दश
कक्षासम्म पुगेकी नीशाले आवेशमा आएर आत्महत्या गरिन् । उनले यदि एकछिन्
धैर्य गरेको भए आफ्नो दुःख कसैलाई बिसाएको भए, आमासँग रोएको भए शायद भोलिका
दिनले उनको भविष्य उज्यालो बनाउने थियो । तर, फेल हुँदा साहस गुमाइन् ।
एकचोटि परीक्षामा फेल भए र के भयो त, अर्कोपटक पास हुन्छु नि भन्ने विचार
गर्नुपर्छ ।
नाम चलेका विद्वान, डाक्टर, वकील,
प्रोफेसरहरू सबैजना कहिले न कहिले परीक्षामा असफल भएका थिए । त्यसैले
एसएलसीमा एकचोटि फेल हुँदैमा तिमीहरूले आत्महत्या गर्ने विचार नगर्नू ।
संसारमा ठूला नाम चलेका महिला र पुरुषहरूले जीवनको अनेक परीक्षामा असफल भएर
पनि धैर्य गरेका हुनाले नै सफल भएका हुन् । नीशालाई पढाउन र तलब भनेर
छुट्याइएको केहि पैसा अब उनी पढेको स्कूलमा उनकै नाममा राखेर संस्थाले केहि
गर्नेछ । तर, निशा बाँचेको भए अझ कति काम गर्नसक्थिन् । संस्थाले पनि
उनलाई मद्दत गथ्र्यो । त्यसैले किशोरीहरू झ् तिमीहरू पढ, परीक्षा देऊ,
एकचोटिमा पास नभए फेरि देऊ र पास होऊ । साहसी र धैर्यवान् बन है ।
यो पत्र पढ्ने तिमीहरूमध्ये कतिपय
गाउँघरका र कतिपय शहरका सरकारी स्कूलमा वा ११ – १२ कक्षामा पढिरहेका छौ
होला । अहिलेको आधुनिक परिवेशमा पनि कति बहिनीहरूले चाहिँ ८-९ कक्षा पढेर
छोडेका छौ होला । कतिपय कामको बोझले वा आमाबुवाले अब पढ्न पुग्यो भनेर
स्कूल छोडाइदिएका होलान् । सुदूरका कतिपय किशोरी बहिनीहरू त त्यहाँको
सांस्कृतिक अवस्थाको कारणले अस्वस्थ भएर स्कूल जानै नसकेका होलान् ।
तराईतिरका कतिपय आमाबुवाले दाइँजो दिन गाह्रो हुन्छ भनेर सानैमा विवाह गरेर
तिमीहरूलाई ठूलो भार दिएको होलान् । कतिपय किशोरीहरू चाहिँ स्कूलमा
पढ्दापढ्दै कसैसँग प्रेम गरेर, घरबाट भागेर विवाह गरेका होलान् र केहि
समयपछि “बेकाममा विवाह गरिएछ, अहिले नर्कजस्तो भयो” भन्ने भएको होला ।
कतिपय किशोरी अवस्थामा नै आमा बनेर सन्तानलाई पाल्न दिनरात मेहनत गरेका
होलान् । आमा बनेपछि श्रीमान् वा पे्रमी भागेर बेपत्ता भएपछि धोका भयो भनेर
कतिपयले आत्महत्याको प्रयास पनि गरेका होलान् । यस्तै यस्तै समस्याबाट
कतिपय जिन्दगीदेखि नै आजित भएका होलान् ।
कतिपय किशोरीहरू पढेर राम्रो काम गर्छु
भन्ने भावना बोकेर पढिरहेका छौ होला । अहिलेको खुला परिवेश, रेडियो, टीभी,
पत्रिका आदिबाट ज्ञान पनि प्राप्त गरेका छौ होला । कतिपय स्कूलमा पढ्ने
किशोरीहरूले “केटा साथी भएन भने त अरूका अगाडि लाज हुन्छ” भनेर सम्बन्ध पनि
गरेका छौ होला । शारीरिक संरचना कस्तो हुन्छ, कसरी गर्भवती भइन्छ, किन
किशोर अवस्थामा यौनसम्पर्क राख्न हुँदैन भन्ने ज्ञानको अभावले यौनसम्पर्क
राखी कतिपयले गर्भपतन पनि गराएका छौ होला ।
नेपालमा गर्भपतनको सुविधा हुनुपर्छ भनेर
आवाज उठाएर लामो सङ्घर्ष गरेपछि आजभन्दा ८ वर्षअघि गर्भपतनको सुविधा
विभिन्न ठाउँमा पुगेको छ । त्यहाँ किशोरीहरू पनि गर्भपतन गराउन आउने कुरा
प्रकासमा आएको छ । आफ्नो शरीरमाथि आफ्नै अधिकार हुन्छ भन्ने कुरालाई
ध्यानमा राखेर हेर्ने हो भने किशोरीहरूले एउटा कुरा बुझ्नुपर्छ, कि सानो
उमेरमा राखिने यौनसम्पर्क र प्रेमको नाममा आफ्नो जिम्मेवारीबोध नगरी
यौनसम्पर्क र गर्भवती हुनुको अर्थ हो,- तिमीहरूले आफ्नो शरीरलाई आदर गरेका
छैनौं । तिमीहरूले प्रेमलाई केवल यौनसम्बन्धसँग मात्रै जोडेर हेर्छौ र,
“यौनसम्पर्क भएर के भो त ?, गर्भपतन गराइहाल्छु नि !”, भन्ने विचार गर्छौ ।
यदि यस्तो हो भने तिमीहरूले ठूलो भूल गरिरहेका छौ । सबभन्दा पहिले त
किशोरावस्थामा यौनसम्पर्क गर्दा आफ्नो शरीरमाथि के के समस्या हुनसक्छ भन्ने
कुरा जानीसकिएको हुँदैन । तिमीहरूमध्ये कमैलाई थाहा होला कि किशोरावस्थामा
यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुने सम्भावना हुन्छ । फेरि यदि गर्भ
रहयो भने गर्भपतनको सुविधा छ भने पनि तिमीहरूलाई अनेकौं कठिनाई पर्न सक्छ ।
सानो उमेरमा शरीर नै राम्रोसँग परिपक्व नभएकाले यौनसम्बन्ध राखेपछि,
प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्छ । यदि तिमीहरू गर्भवती भयौ भने
सामाजिक संरचनाले घरका मानिसहरूलाई भन्न नसकेर, अब के गर्ने, कसो गर्ने
भन्ने चिन्ताले छटपटिएर मानसिक रूपमा पनि अस्वस्थ हुन सक्छौ ।
आजभन्दा २४ वर्षअघि जब म भर्खर डाक्टर पास
गरेर प्रसूति गृहमा काम गर्दै थिएँ, मैले दशओटा जति यस्ता घटनाहरू देखें ।
एउटा घटना त मेरो छिमेकीमा नै भएको थियो । एकजना गरीब महिला जो विभिन्न
ठाउँमा भाँडा माझेर जीविका चलाउँथिन्, उनकी रेखा नामकी १७ वर्षीया छोरी
थिइन् । रेखा स्कूल जान्थिन् । स्कूल पढ्दा पढ्दै रेखा कसैको प्रेममा फसिन्
र मनकामनातिर जाँदा उनको शारीरिक सम्पर्क भएछ । अनि गर्भवती भइन् ।
चार-पाँच महीनापछि उनकी आमाले रेखालाई त बान्ता भइरहन्छ, खाने रूचि छैन,
हेरिदिनोस् न भनेर मकहाँ ल्याइन् । मैले रेखालाई जाँच गरें, पेट ठूलो भएको त
देखें, तर गर्भ रहेको शंका नै भएन । म भर्खरकी शिकारू थिएँ । मैले
आफूभन्दा वरिष्ठ स्त्रीरोग विशेषज्ञलाई जाँचिदिन आग्रह गरें । जाँच गरेपछि
डाक्टरले मलाई भन्नुभयो, “के हो अरूणा झ्, यस्तो जाबो कुरा पनि पत्ता लगाउन
नसकेको झ् उनी त ७ महीनाकी गर्भवती छिन् ।” म त हागाँबाट झरेजस्तै भएँ ।
मैले भनें, “तर उनको विवाह त भएको छैन”, डाक्टरले भन्नुभयो, “गर्भ रहन
विवाह गर्नैपर्दैन, सोध्नु रेखालाई ।”
अनि पो रेखाले बेली बिस्तार लगाइन् । एउटा
निजी क्लिनिकमा लगेर उनको सात महीनाको गर्भपतन गराइयो । त्यस बेला
डाक्टरले भन्नुभएको थियो, “तपाईंकी बहिनी जस्तो भन्ठानेर मात्र यो गरेकी
हुँ । यती सानो उमेरमा पनि गर्भवती हुने हो र ।” त्यो घटनापछि रेखाको जीवन
नै बदलियो । उनी परिवारबाट अपहेलित भइन् । २४ वर्षपछि पनि अहिले उनी मानसिक
रूपमा केहि दुःखी छिन् । उनले पढाई छोडिन् । उनको विवाह गर्ने उमेर पनि
बित्यो । रेखा त काठमाडौंमा थिइन् र उनको सुरक्षित तरीकाले गर्भपतन भएको
थियो । तर, गाउँघरमा त शायद कति रेखाहरूले असुरक्षित तरीकाले गर्भपतन गराएर
ज्यान गुमाएका होलान्, वा विष खाएर आत्महत्या गरेका होलान् ।
गर्भ नरहोस् भन्नका लागि यौनसम्पर्क
गरेपछि “इमर्जेन्सी औषधि” तिमीहरू धेरैले खाएका छौ होला । तर, यसरी जथाभावी
औषधि प्रयोग गर्दा तिमीहरूको स्वास्थ्यमा कति नराम्रो असर पर्छ भन्ने कुरा
तिमीहरूलाई थाहा छ कि छैन ? त्यसमाथि पनि जोसँग यौनसम्पर्क भएर गर्भ
रहन्छ, उसले पछि सहानुभूति राख्ला भनेर पनि भन्न सकिँदैन । किशोर अवस्थाको
प्रेम पानीको फोका झैं हुन्छ । अनि यस्तो घटनापछि तिमीहरूलाई पढाइमा मन
लागाउन पनि गाह्रो हुन्छ । शहर र गाउँघरमा धेरै किशोरीहरूले स्वतन्त्रता छ
भनेर, स्कूलको सट्टा घुम्न गएको र आवेशमा आएर यौनसम्पर्क भएपछि पछुताएको
पनि देखेकी छु ।
किशोरीहरू ! तिमीहरूलाई पहिलेको तुलनामा
धेरै सुविधा छन् । तर, उपयोग गर्नुको सट्टा तिमीहरूले दुरूपयोग गर्यौ भने त
राम्रो भएन नि झ् नैतिकता र अनैतिकताको दृष्टिकोणले यौनसम्पर्कलाई हेर्ने
कोशिश गर्नु हुँदैन । तर, तिमीहरूले आफ्नो स्वास्थ्यको ख्याल राखेर शारीरिक
र मानसिक रूपमा स्वस्थ हुँदै किशोर अवस्थामा यौनसम्पर्क नगरेकै ठीक हुन्छ ।
प्रेम गर्नु नराम्रो होइन । यसले त जीवनमा ऊर्जा भर्नुपर्छ, जीवनलाई अघि
बढाउन उत्साह दिनुपर्छ, नकि हीनताबोध र सामाजिक अपहेलना ।
(डा.उप्रेतीको पुस्तक ‘आाफ्नो स्वास्थ्य आफ्नै हातमा’ बाट)
|
|
Sources : Onlinekhabar



0 comments
Write Down Your Responses