राष्ट्रपति फेरि सक्रिय, आफूसँग भएका कुरा बाहिर नलान कडा सर्त
जेठ, काठमाण्डौं ।राष्ट्रपति डा.रामवरण
यादव सहमति जुटाउने कार्यमा पुनः सक्रिय भएका छन् । प्रमुख दलहरूबीच
निर्वाचन कानुन र चुनावको मिति घोषणामा समेत सहमति जुट्न नसकेपछि
राष्ट्रपति यादव सहमति जुटाउने अभियानमा सक्रिय भएका हुन् ।राष्ट्रपति
कार्यालय स्रोतका अनुसार राष्ट्रपति यादवले पछिल्लो समयमा सहमति जुटाउन
अनौपचारिक ढंगबाट छलफल अघि बढाएका छन् ।
पछिल्लो समय भेटवार्तामा आउने नेताहरूलाई
वार्ता निष्कर्षमा पुग्न नसक्दासम्म सार्वजनिक नगर्नसमेत राष्ट्रपति यादवले
आग्रह गर्ने गरेका छन् । सहमति जुटाउन राष्ट्रपति यादवले एकीकृत नेकपा
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले
अध्यक्ष झलनाथ खनालसहित शीर्ष तहका नेतासँग सहमति जुटाउने क्रममा अनौपचारिक
परामर्शसमेत गरिसकेका छन् ।
राष्ट्रपति
यादवले एमाओवादी उपाध्यक्षद्वय डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ,
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल,
महामन्त्री कृष्ण सिटौला, एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी
ओलीसँग पनि परामर्श गरिसकेको स्रोतले बतायो । यादवले मधेसवादी दलका नेताहरू
महन्थ ठाकुर, विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, राजेन्द्र महतोलगायतका
नेतासँग पनि परामर्श गरी सहमति निर्माणमा भूमिका खेल्न भन्दै निर्वाचनबाट
निकास दिनेतर्फ केन्द्रित हुन सुझाएको राजधानी दैनिकमा खबर छ ।
सहमति जुटाउने प्रयासका क्रममा राष्ट्रपति
यादवले सोमबार सरकार गठन प्रक्रियामै असहमत मधेसी जनअधिकार फोरम नेपालका
अध्यक्ष उपेन्द्र यादवसँग गोप्य भेटवार्ता गरेका छन् । आफूसँग भएको
कुराकानी बाहिर नलाने सर्तमा सो छलफल भएको भेटपछि यादवले नै सार्वजनिक
गरेका छन् । ‘भेटमा भएको कुराकानीलाई बाहिर नल्याउने कुरा भइसकेकाले थप
नभनौं,’ राष्ट्रपतिसँगको भेटबारे अध्यक्ष यादवले भने । फोरम अध्यक्ष यादवले
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा
दिनुपर्ने भन्दै विपक्षी गठबन्धनको नेतृत्व गरिरहेका छन् । यादवसँगको भेटमा
राष्ट्रपतिले आफ्ना सल्लाहकारलाई समेत सहभागी गराएका थिएनन् । सूचना बाहिर
जाँदा आफ्नो लक्ष्य पूरा नहुने र निकास नआउने भन्दै राष्ट्रपतिले आफूसँगको
कुराकानी गोप्य राख्न सुझाउने गरेका हुन् ।
‘सहमति निर्माणका लागि राष्ट्रपतिले पहल
गरिरहनुभएको छ तर अहिलेसम्म कुनै रिजल्ट (नतिजा) आइसकेको छैन, रिजल्ट आएपछि
राष्ट्रपतिको भेटवार्ताको सबै विषय जानकारी पाइन्छ,’ राष्ट्रपतिका प्रेस
सल्लाहकार राजेन्द्र दाहालले राजधानीसँग भने । उनले राष्ट्रपति सहमतिका
लागि गम्भीर भएकाले बाहिरभन्दा भित्री तहमा काम भइरहेको जानकारी दिए ।
निर्वाचनका लागि आवश्यक कानुन निर्माणमा समेत दलहरूले विवाद बढाउन थालेपछि
शीतलनिवासबाटै पहल सुरु भएको उनले बताए । प्रमुख दलबीच सहमति हुन नसक्दा
निर्वाचन आयोगले गत १९ चैतमा सरकारलाई पठाएको संविधानसभा सदस्यसम्बन्धी
अध्यादेश त्यतिकै थन्किएर बसेको छ ।
अध्यादेश पारित नहुँदा निर्वाचनका
प्राविधिक तयारीको काममा समेत बाधा पुगेको भन्दै आयोगले सरकारलाई चाँडो
राष्ट्रपतिसमक्ष पठाउन आग्रह गर्दै आएको छ । मन्त्रिपरिषद् अध्यक्ष
रेग्मीले सो अध्यादेशको टुंगो लगाउने जिम्मा सरकारलाई दिन प्रस्ताव गरे पनि
दलहरूले सहमति जनाएका छैनन् । ‘दलहरूबीच सधंै विवाद मात्रै भएपछि चिन्तित
भई राष्ट्रपतिले सहमतिका लागि नै पहल थाल्नुभएको हो,’ दाहालले भने ।
स्रोतका अनुसार राष्ट्रपति यादवले दलका नेताहरूलाई निर्वाचन कानुनमै
अड्किएर चुनाव पर धकेल्ने काम गर्नुहुन्न भन्दै सचेत गराउने गरेका छन् ।
|
0 comments
Write Down Your Responses