संखुवासभाका मालपोत प्रमुखसहित १४ विरुद्ध विशेषमा मुद्दा दायर
१३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाका मालपोत प्रमुख सीताराम पौडेलसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ४ सय ३९ रोपनी सरकारी कीर्ते गरी व्यक्तिको नाममा गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मालपोत प्रमुख पौडेल, खरिदार कमलबहादुर ढुङ्गेल र गुणराज पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१), ४, ९ र ११ बमोजिम सजाय र विगो १५ लाख २० हजार ८ सय सवै कर्मचारीलाई जरिवाना मागदावी गरिएको छ । यस्तै लेखापढी व्यवसायी केदार पौडेल, गोपाल पौडेल र रामप्रसाद भटृराई मतियार भै कार्य गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय गर्न माग गरिएको छ । पुण्यप्रसाद लिम्बु, झकबहादुर लिम्बु, लोक बहादुर लिम्बु, शंकर कुमार लिङथे -लिम्बु) र पासाङ सेर्पालाई ऐनको दफा ८(१) (ज),९ र ११ बमोजिम सजाय र बिगो १२ लाख ८ हजार जरिवाना तथा सन्तकुमार लिम्बु, थोकराज लिम्बु र दुर्गाबहादुर लिम्बुलाई सोही अनुसार सजाय हुन र बिगो ३ लाख २० हजार जरिवानाको माग गरिएको छ । संखुवासभा नुनढाकी ७ को २८० रोपनी ८ आना २ दाम रोपनी जग्गा पुण्यप्रसादसहितको ५ जनाले झुठो विवरण र नक्कली श्रेस्ता पुर्जा बनाई सरकारी वन जंगल र फिल्डवुकमा पर्ति उल्लेख भएको जग्गाहरु २०६७ साल फागुन ६ गते आफ्ना नाममा दर्ता गरी त्यसको भोली विस भन्दा बढी राजिनामा लिखत तयार गरी विभिन्न कित्ता काट गरी बेचविखन समेत गरेको रअख्तियारको अभियोग पत्रमा उल्लेख छ । यस्तै नुनढाकी – ९ को १५८ रोपनी ४ आना २ पैसा २ दाम जग्गा सन्तकुमारसहितको तीन जनाका नाममा नापीको फिल्डबुकमा पर्ति जनिएको जग्गा झुठो विवरण र नक्कली कागजातका आधारमा सर्वोच्च अदालतको मिति २०५७ माघ १० को निर्णयको कार्यान्वयन नहुँदैको अवस्थामा आफुहरुलाई फाइदा हुने गरी मिति २०६७ साल असार २५ मा टिप्पणी उठाई श्रेस्ता कायम गरी सम्बन्धित व्यक्तिहरुलाई ज.ध.पूर्जा दिएको र सोही साल माघ ७ मा कित्ताकाट गरी विभिन्न राजिनामा, दर्ताफारी र वकसपत्र लिखतहरु गर्ने काम भएको थियो । पछि सार्वजनिक चासो र जनदवावको कारण मिति २०६७ चैत ९ मा मालपोत प्रमुख पौडेलले जग्गा दर्ताको सम्पूर्णकार्य बदर गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।भिडियोको लागी तल क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses