व्यवसायी भन्छन्- अब घरजग्गाको मूल्य घट्दैन

१४ साउन, काठमाडौं । घर जग्गा एवं आवास व्यवसायीहरुले घर जग्गाको भाउ अब नघट्ने र विस्तारै बढ्न थाल्ने दाबी गरेका छन् । उनीहरुले अहिलेको समय जग्गा किन्नका लागि उपयुक्त रहेको दाबी समेत गरेका छन् । ’महंगा अपार्टमेन्ट र प्लटहरुको कारोबार बढ्न नसके पनि सस्ता कोलोनी र जग्गाहरुको कारोबार अवश्य बढ्ने छ ।’ नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनी भन्नुहुन्छ-’हिजो जस्तो अपार्टमेन्ट तुरुन्त बिक्री हुन्छ भनेर बसेको छैन । सरकारले उच्चपदस्थ कर्मचारीहरुलाई अपार्टमेन्ट खरिद गरेर दिने निर्णय गरेपछि केही अपार्टमेन्ट त्यता प्रयोग हुन सक्छन् ।
अहिले व्यवसायीहरुले अपार्टमेन्ट होल्ड गरेर नराखी होटल, हस्पिटल लगायतका क्षेत्रमा लगाउन थालेका छन् ।’उहाँका अनुसार विशेषगरी कोलोनीमा बनेका सस्ता घरहरु र डेभलप गरिएका सस्ताखालका प्लटहरुको खरिद-बिक्री अहिले पनि चलायमान नै रहेको छ । यस्ता घर तथा प्लटहरुको खरिद बिक्री काठमाडौं उपत्यकामा पनि उच्च रहेको छ । तर, ४ वर्ष अगाडिको भन्दा अहिले २०/३० प्रतिशत मूल्य घटेको छ र अप्रत्यक्ष रुपमा व्यवसायीहरुले ६० प्रतिशत ब्याज तिरिसकेको र २०/३० प्रतिशत मूल्य घट्दा झण्डै ८०/८५ प्रतिशत घरजग्गाको मूल्य घटिसकेको लोहनीको विश्लेषण छ ।
नेपालमा अपार्टमेन्ट कल्चर छैन
लोहनीका अनुसार नेपाल जग्गा तथा आवास विकास संघमा हालसम्म संस्थागत रुपमा १ सय ३० व्यवसायीहरु आवद्ध रहेका छन् । ती कम्पनीहरुले काठमाडौं उपत्यकामा ७१ वटा संस्थागत प्रोजेक्टमा हात हालेको र ती मध्ये धेरैजसो सम्पन्न हुँदै गएका छन् । तर, ठूला अपार्टमेन्टमा सबैभन्दा ठूलो समस्या आएको हो र अझै सम्म नेपालीहरुमा अपार्टमेन्ट कल्चर विस्तार नभइसकेको लोहनी बताउनुहुन्छ ।
व्यवसायी लोहनीले दिनुभएको जानकारी अनुसार निर्माणाधीन र निर्माण भइसकेका अपार्टमेन्टको संख्या काठमाडौं उपत्यकामा ६ हजार पुगेको छ । जसमध्ये ३ हजार अपार्टमेन्टहरु निर्माण सम्पन्न भएर बिक्री भइसकेका छन् भने बाँकी निर्माण हुँदै छन् । बाँकी ३ हजार निर्माण र बिक्री हुने क्रममा छन् । त्यसैगरी कोलोनीमा २२ सय युनिट व्यक्तिगत घर निर्माणका लागि अनुमति लिएको र त्यसमा जम्मा ३ सय युनिट घरहरु बिक्री हुन बाँकी रहेको लोहनीले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.