विचरा भारतीय सेना : जासुसी जहाज भन्दै ६ महिनासम्म आकाशका तारा हेरेको हेर्यै


शंकाले लंका डोल्छ भन्ने उखानै छ । व्यर्थैमा अर्काको शंका गर्दा कहिलेकाहीँ आफैलाई घाटा हुने मात्र होइन लाजमर्दो पनि हुन्छ । खुबै जान्ने हुँ भन्ने पनि नराम्ररी चिप्लिन्छ । यसरी नै चिप्लिएको छ भारत । चीनमाथि अति शंका गर्ने क्रममा ऊ पछिल्लोपटक नराम्ररी जिल्लिएको हो । आकाशमा चम्किएका ग्रहलाई चीनले छाडेको जासुसी जहाज भन्ने गलत अनुमान गर्दै भारतीय सेनाले आफ्नो ६ महिना व्यर्थैमा खेर मात्र फालेन यसले भारतीय सेनाको प्राविधिक क्षमतामा पनि प्रश्न उठाइदिएको छ । भारतीय पत्रिका टेलिग्राफलाई उधृत गर्दै बीबीसीले छापेको समाचार अनुसार आकाशमा चम्किने शुक्र र बृहस्पती ग्रहलाई भारतीय सेनाले चीनले छाडेका जासुसी मानव रहित जहाज भएको आशंका गर्दै ६ महिनासम्म गोप्य रुपमा निकै चनाखो बन्दै निगरानी गर्यो । तर अन्ततः ती आकाशमा रहेका वस्तु कुनै जासुसी जहाज नभएर ८ ग्रह मध्येका दुइ ग्रह भएको कुरा पत्ता लागेपछि भारतीय सेना जिल्लिएको हो । दुइ देशबीचको विवादित सिमा क्षेत्र माथिको आकाशमा देखिएका चम्किला वस्तुहरु चीनले छाडेका जासुसी जहाज भएको हुनसक्ने र ती वस्तुले भारतीय आकाशमा प्रवेश गरी सीमा उल्लंघन गरेको ठहर भारतीय सेनाले गर्यो । नगरोस् पनि किन ? आखिर ६ महिनासम्मै पटक पटक आकाशमा त्यस्ता चम्किला चिज देखिए । त्यसपछि सेनाले आकाशमा देखिएका वस्तु खास के हुन् भनेर भारतीय अन्तरीक्ष संस्थालाई गुहार्यो । संस्थाका खगोलविद्हरुले त्यसपछि सेनाको आग्रह अनुसार चीनका जासुसी जहाज भनि आशंका गरिएका आकाशे वस्तुलाई टेलिस्कोपको सहायताले अवलोकन गर्दा पो थाहा भयो ती कुनै जहाज नभएर ग्रह पो रहेछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.