हेलो सरकारमा असारमा ६ सय २९ उजुरी


१३ साउन, काठमाडौं । हेलो सरकारमा गत असार महिनामा ६ सय २९ वटा उजुरी परेको छ । जसमध्ये ५ सय ६८ वटा उजुरी फछ्र्यौट गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले प्राप्त भएका उजुरीमध्ये ९० प्रतिशत फछ्र्यौट गरिएको बताउनुभयो । उहाँका अनुसार असार महिनामा प्राप्त उजुरीमध्ये ६७ वटामाथि स्वयम् हेलो सरकारले नै पहल गरी समाधान गरेको थियो । यसैगरी तुरन्त आवश्यक कारबाही गरिएका उजुरी नौवटा, आवश्यक कारबाही गरी निवेदकलाई जानकारी दिइएका उजुरी ६५, प्रचलित कानुनअनुसार कारबाही गरी निवेदकलाई जानकारी दिइएका उजुरी १३०, कार्य फछ्र्यौट गरी प्रगति विवरण पठाइएका दुई वटा, सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारवाही अगाडि बढाइएका आठ वटा, मन्त्रालय/आयोगसँग सम्बिन्धित रहेका २ सय ८० वटा र अन्य २७ वटा रहेका छन् । ती उजुरीमध्ये हेलो सरकारले ६७ वटा उजुरीमाथि कारबाही गरेको थियो भने १८ वटालाई उच्च प्राथमिकतामा राखेको थियो । त्यस्तै १ सय ९३ वटालाई प्राथमिकतामा राखिएको थियो । सचिव बाँस्कोटाका अनुसार प्राप्त भएका उजुरीमध्ये जनताको दैनिक जीवनसँग जोडिएका उजुरीहरू धेरै थिए । यसैगरी सरकारी कार्यालयमा चिठ्ठी हराएको, कम परिणाममा पेट्रोलियम पदार्थ बेचिएको, खाना पकाउने एलपी ग्यास नपाइएको, वैदेशिक रोजगार विभागमा घुस नखुवाई काम नभएको, बाढी पीडितले राहत नपाएको जस्ता उजुरी बढी परेको थियो । त्यस्तै हेलो सरकारमा वन फडानी, किसानले उचित मूल्यमा आफ्ना उत्पादन बेच्न नपाएको, सामाजिक सुरक्षा भत्ता नपाएको, राजनीतिक पहुँचमा आधारमा विकास निर्माणको काम गरिएको जस्ता उजुरी समेत प्राप्त भएको सचिव बाँस्कोटाले जानकारी दिनुभयो । पुराना उजुरीमध्ये सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका ९२३ वटा, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ४९ वटा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका चार वटा, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका दुई वटा, नेपाल टेलिकमका २२५ वटा फछ्र्यौट हुन सकेको छैन । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.