बास बसेकै घरमा बच्चा छोडेर भाग्ने महिला प्रहरी सम्पर्कमा

स्याङ्जा - बास बसेकै घरमा दुई वर्षको नाबालकलाई छोडेर भागेकी महिला ११ दिनपछि बच्चा खोज्दै फिर्ता आएकी छिन्। पानी परिरहेको बेलामा बाटोमा बालक बोकेर रुझ्दै हिँडेकी ती अधवैंशे महिलालाई स्याङ्जाको पुतलीबजार नगरपालिका–६ हरिपालास्थित कृष्णप्रसाद पोखरेलले आफ्नो घरमा गत असार १४ गते साँझ बास दिएका थिए। 'असार १५ गते बिहान घरबाट बच्चा छोडेकी महिला ११ दिनपछि मेरो छोरा खै भन्दै आइन्', घरधनी पोखरेलले भने, 'मैले त छोरालाई जिल्ला प्रशासनमा लगेर बुझाइदिएको छु भनें।' त्यपछि मेरो छोरा चाहियो भनेर रुन कराउन थालेपछि ती महिलालाई महिला विकास कार्यालयमा ल्याइदिएको पोखरेलले बताए। 'यहाँ आएर मेरो छोरा दिनुहोस् भनेर ती महिलाले भनिन्” महिला विकास अधिकृत मीरा शेरचनले भनिन्, “तिमी यत्रो दिन बच्चा छोडेर कहाँ गएकी थियौँ भनेर सोध्दा मर्न भनेर गएकी थिएँ फेरि बच्चा सम्झेर फिर्ता आएँ भनिन्।' यी महिलाको मानसिक सन्तुलन ठीक नभएकाले आफूहरुले बच्चा दिन नसकेको अधिकृत शेरचनले बताए। उनका अनुसार अहिले महिला र बालकलाई जिल्ला प्रहरी कार्यालयमा रहेको महिलामैत्री कक्षमा राखिएको छ। ती महिलाले आफ्नो घर अर्घाखाँची जिल्लाको अर्घा गाविस–५ मा र माइत गुल्मीको तम्घास भनेर आफूलाई बताएको महिला विकास अधिकृत शेरचनले बताए। यता जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिं राठौरले बच्चा छोड्ने आमा यही हो भनेर पोख्रेल परिवारले बताएकाले हामीसँग बच्चा उसैको हो भन्ने प्रमाण भएकोले त्यसबारेमा आफूहरु छलफलमा रहेको बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.