कसरी जुर्यो होला गाविसको नाम ? अब छिटै थाहा हुन्छ !
तपाईं गाउँमा जन्मनुभएको भए आफ्नो गाउँको नाम कसरी रहृयो होला भनेर कहिल्यै सोधीखोजी गर्नुभएको छ ? बुढापाकाहरुले भनेको आधारमा कसैकसैलाई आफ्नो गाउँको नाम जुरेको कथा थाहा पनि होला । तर धेरैजनालाई देशभरका गाविसको नाम कसरी बन्यो भन्ने थाहा छैन । गाउँठाउँको विकास गर्ने जिम्मा पाएका सरकारी तथा गैरसरकारी निकायका मान्छेका लागि पनि यो सोधीखोजीको विषय होइन । तर झापाका ८० वषिर्य एक बृद्धले भने देशभरका गाविसको नाम कसरी बन्यो भन्ने कुरा पत्ता लगाइसक्नुभएको छ ।
झापा घैलाडुब्बाका हरिध्वज तिमिल्सिना खत्रीले सात वर्ष लगाएर गाविसको नामबारे सोधीखोजी गर्नुभएको हो । ‘कति ठाउँमा आफैं गएर र कति ठाउँमा मान्छे लगाएर मैले सबै गाविसको नाम कसरी जुरेको रहेछ भन्ने कुरा पत्ता लगाएको छु’ उहाँले अनलाइनखबरसित भन्नुभयो-’अब यसलाई छिटै पुस्तकको रुपमा सार्वजनिक गर्ने तयारी गर्दैछु ।’
गाविसको नाममा कुनै न कुनै ऐतिहासिक तथ्य लुकेकोले यसलाई उजागर गर्न यो अभियानमा जुटेको उहाँले बताउनुभयो । देशभरका सबै ३ हजार ९ सय १५ वटै गाविसको नामको इतिहास खोज्दा कष्टसँगै रमाइलो पनि भएको उहाँले बताउनुभयो ।
गाविसको नामको अर्थ खोज्न उहाँले नेता, सभासद,गाउँका बृद्धबृद्धा, समाजसेवी, बिभिन्न जातजाति र धार्मिक व्यक्तिहरुको पनि सहयोग लिनुभएको छ । ‘सबैको सहयोगले एउटा महत्वपूर्ण दस्तावेज आउँदैछ’ खुशी हुँदै खत्रीले भन्नुभयो-’यो सबैका लागि कामलाग्दो इतिहास बन्नेछ भन्ने मलाई लागेको छ ।’ खत्री झापाका पुराना शिक्षक र राजनीतिज्ञ पनि हुनुहुन्छ । उहाँलाई अंग्रेजी, नेपाली, हिन्दी, बंगाली र संस्कृत भाषाको ज्ञान छ ।
0 comments
Write Down Your Responses