३ करोड पाउन्ड अस्वीकार गरेका लुइस कुन क्लब जालान्?
लन्डन– लिभरपुलका उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले आफूसँग दुई वा तीन विकल्प रहेको बताएका छन्। स्वारेजले लिभरपुल छाड्न चाहेको चर्चा सुरु भएपछि धेरै क्लबले उनीमाथि चासो देखाएका छन्। त्यसमध्ये दुई दिनअघि अर्को इङ्लिस क्लब आर्सनलले दिएको ३ करोड पाउन्डको प्रस्ताव लिभरपुलले अस्वीकार गरिसकेको छ। नयाँ सिजनको तयारीका लागि जुलाई २१ मा एनफिल्ड पुग्नुपर्ने भए पनि स्वारेजले परिस्थिति तीव्र गतिमा बदल्न सक्ने संकेत गरेका छन्। 'के हुन्छ कसैलाई थाहा छैन। एक फोनले पनि योजना बदलिन सक्छ,' स्वारेजले एक रेडियो अन्तर्वार्तामा ठट्टा गर्दै भनेका छन्, 'मेरो एजेन्टसँग कुरा भइरहेको छ। केही भइहाल्यो भने फोन सधैं मेरो साथमा हुन्छ भनेको छु।' आर्सनलको प्रस्तावबारे २६ वर्षे स्वारेजले भने, 'सबै थाहा पाउँदा खुसी लाग्यो। एउटा फुटबलरका रूपमा मेरो कति महत्व छ भन्ने थाहा भएको छ। धेरैखाले विकल्प छन्। दुईदेखि तीन क्लब मलाई भित्र्याउनमा इच्छुक रहेको लिभरपुललाई थाहा छ।'
उनका एजेन्ट पेरे ग्वार्डिओला लिभरपुल व्यवस्थापक ब्रेन्डन रोजर्स र प्रबन्ध निर्देशक इयान एयरेसँग यही विषयमा छलफल गर्न मर्सिसाइड जाँदैछन्। यद्यपि लिभरपुल कुनै पनि हालतमा स्वारेजलाई राख्ने मनसायमा छ। स्वारेजले अफ सिजनका क्रममा प्रायजसो आफू च्याम्पियन्स लिग खेल्न इच्छुक रहेको बताउँदै आएका छन्। स्वारेजले लिभरपुलबाट ९६ खेल खेल्दै ५१ गोल गरिसकेका छन् ।
0 comments
Write Down Your Responses