फ्री भिसामा म्यानपावरले लिने गरेको रकम नियन्त्रण गरिने

६ साउन, काठमाण्डौं । वैदेशिक रोजगारमा ‘फ्री भिसा’ मा म्यानपावर कम्पनीले कामदारसँग लिने चर्को रकम नियन्त्रण गरिने छ । खाडी मुलुकका प्रतिष्ठित कम्पनीले सम्पूर्ण खर्च बेहोर्ने गरी पठाएका फ्री भिसामा म्यानपावर कम्पनीले रकम लिने गरेको गुनासो हटाउन नियन्त्रणका कार्यक्रम गरिने भएको हो ।

म्यानपावर व्यवसायीले फ्री भिसामा प्रवर्द्धन शुल्कका नाममा ४० हजार रुपैयाँसम्म लिने गरेको सरकारी अधिकारीहरुको भनाई छ । वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले प्रवर्द्धन शुल्क र हवाई टिकट नलाग्ने कामदारको मागपत्रका लागि रकम असुली हुने गरेको गुनासो आउने गरेकाले त्यसलाई नियन्त्रण गर्न लागिएको जानकारी दिए । ‘रकम असुली गर्ने म्यानपावर कम्पनीको पहिचान गर्न लागिएको छ,’ उनले भने, ‘कतार र साउदी अरेबियाको रोजगारमा यस्तो हुने गरेको गुनासो अब हटाइने छ ।’

कतारमा कामदार पठाउँदा म्यानपावर कम्पनीले हवाई टिकट र प्रशासनिक खर्चका लागि २० हजार रुपैयाँ मात्र लिन पाउने प्रावधान उल्लंघन हुँदै आएको सरकारी अधिकारी नै स्वीकार्छन । कतार र साउदी अरेवियाका कम्पनीले कामदारका लागि प्रवर्द्धन शुल्क नलाग्ने भए पनि नेपाली व्यवसायीको त्यस्ता कम्पनीसँग सिधा सम्पर्क नभएकाले एजेन्टमार्फत समझदारी गर्दा समस्या उत्पन्न भएको विभागका निर्देशक आचार्यले बताएको नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.