सडक भन्दा गाडी बढे !

९ साउन, काठमाडौं । राजधानी काठमाडौंमा मात्रै होइन, देशका अरु शहरमा समेत दिनहुँजसो गाडी जामले हैरान बनाउँछ । नयाँ सडकको तुलनामा गाडीको संख्या हृवात्तै बढेपछि ट्राफिक व्यवस्थापनमा समेत चुनौति थपिएको छ ।

गएको आर्थिक वर्षमा जम्मा १९४ किलोमिटर नयाँ सडक बनेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा १ हजार १ सय ८० किलोमिटर नयाँ सडक थपिएको थियो । सडक विभागका अनुसार आर्थिक वर्ष २०६८/०६९ को अन्त्यसम्म देशभर १० हजार १ सय ९२ किलोमिटर सडकमा कालोपत्रे भएकोमा गएको आर्थिक वर्षको फागुनसम्म १० हजार ३ सय २० किलोमिटर सडकमा कालोपत्रे भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा २४ हजार ३ सय ८९ किलोमिटर सडक निर्माण भएकोमा अहिले सडकको कूल लम्बाई २४ हजार ५ सय ८३ किलोमिटर पुगेको सडक विभागले जनाएको छ ।

यस्तै गएको वर्ष १६ वटा नयाँ पूल थपिएका छन् । अघिल्लो वर्ष ४७ वटा पूल बनेका थिए ।

यातायात व्यवस्था विभागका अनुसार २०४६/०४७ देखि २०६८/०६९ को अन्त्यसम्ममा देशभरमा १३ लाख ४८ हजार ९ सय ९५ वटा सवारी साधन रहेकोमा गत आर्थिक वर्षको पहिलो आठ महिनामा १ लाख ४२ हजार ४ सय २७ ले सवारी साधन थपिएका छन् । हाल देशभर सवारी साधनको संख्या १४ लाख ९१ हजार ४ सय २२ पुगेको विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष अघिल्लो आर्थिक वर्षको प्रथम आठ महिनाको तुलनामा सरदर ४० प्रतिशतले सवारी साधनको संख्या बढेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.