प्रचण्डले अब बिजुक्छेलाई ‘माया’ नगर्ने
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छे (रोहित) का कारण भक्तपुरको विकास नभएको बताउनुभएको छ । साथै अघिल्लो चुनावमा आफूले बिजुक्छेलाई माया गरे पनि यसपालि माया नगर्ने घोषणासमेत गर्नुभएको छ ।
‘अघिल्लो चुनावमा म भक्तपुरमा एकचोटि आएँ, यहाँ रोहितजीले जित्दा पनि ठिकै होला भन्ने लागेको थियो, तर संविधानसभाको चुनावपछि उहाँले सामन्तवादीहरुसँग साँठगाँठ गर्नुभयो ।’ शनिबार भत्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो,’ पहिले त उहाँको माया लागेको थियो, तर अब रोहितलाई हराउनुपर्छ, उहाँलाई नहराई सुखै छैन ।’
नेमकिपाको प्रभावक्षेत्र रहेको भक्तपुरमा नेमकिपाको विरोधमा लामो समय खर्चिनुभएका प्रचण्डले भन्नुभयो, ‘उहाँहरुले स्थानीय, संकीर्ण र सामन्तवादी टाइपको राजनीतिक गर्नाले भक्तपुर विकास र सामाजिक रुपमा समेत पछाडि पर्यो ।’ एमाओवादी अध्यक्ष प्रचण्डले बिजुक्छेलाई हराउन कार्यकर्तालाई गाउँ गाउँमा पस्न निर्देशनसमेत दिनुभयो ।
भक्तपुरमा एमाओवादीको अवस्था
प्रचण्डले नेमकिपाका विजुक्छेलाई हराउन निर्देशन दिए पनि भक्तपुरमा एमाओवादीको स्थिति भने खासै बलियो छैन । अघिल्लो संविधानसभा चुनावमा भक्तपुर १ बाट नेमकिपाका अध्यक्ष नारयणमान बिजुक्छेले १९ हजार ९ सय ७२ मत ल्याएर विजय हासिल गर्नुभएको थियो । बिजुक्छेसँग पराजीत एमाओवादी उमेदवार देवेन्द्र श्रेष्ठको ११ हजार ५ सय ४८ मत मात्रै आएको थियो । तर, श्रेष्ठ यतिबेला एमाओवादी छाडेर वैद्य पक्षमा लागिसक्नुभएको छ ।
भत्तपुरको क्षेत्र नं २ मा पनि नेमकिपाले नै जितेको थियो । सो क्षेत्रमा प्रजापतिको १८ हजार १ सय मत आएको थियो भने एमाओवादीका अर्जुनबहादुर थापा १० हजार ० सय मत ल्याएर चौथो स्थानमा खुम्चनुभएको थियो । २ नं क्षेत्रमा कांग्रेसका लेखनाथ न्यौपाने दोस्रो र एमालेका गणेशबहादुर खत्री तेस्रो स्थानमा आउनुभएको थियो । क्षेत्र नं १ मा अघिल्लो चुनावमा कांग्रेस तेस्रो र एमाले चौथो स्थानमा थिए ।
भक्तपुरमा एमाओवादीले जस्तै नेपाली कांग्रेसले पनि २ नं क्षेत्रबाट नेमकिपाको किल्ला भत्काउने दाबी गरेको छ । तर, विगतको तथ्यांक हेर्दा नेमकिपाको तुलनामा अन्य दलहरु निकै कमजोर छन् भक्तपुरमा ।
राई र यादव चुनावमा आउँछन् : प्रचण्ड
भक्तपुरको प्रशिक्षण कार्यक्रममा प्रचण्डले उपेन्द्र यादव र अशोक राईहरुसँग शनिबार विहान कुराकानी भएको बताउँदै उनीहरु चुनावमा आउने बताउनुभयो । ‘अशोक राई र उपेन्द्र यादवहरुसँग कुरो मिल्छ, उहाँहरु चाँडै सहमतिमा आउने निश्चित छ ।’, प्रचण्डले भन्नुभयो ।
0 comments
Write Down Your Responses