विद्युत प्राधिकरणको १५ सय १० रोपनी जग्गा आफ्नै कर्मचारीको कब्जामा
१८ साउन, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणको स्मामित्वमा देशभर रहेका जग्गामध्ये करिब १५ सय १० रोपनी आफ्नै कर्मचारीले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ ।
उर्जा मन्त्रालयले प्राधिकरणको स्मामित्वमा रहेका घरजग्गाको लगत, अवस्था र उपयोगको वास्तविक स्थितिबारे अध्ययन गर्न गठन गरेको समितिले तयार पारेको प्रतिवेदनमा प्राधिकरणको जग्गा कर्मचारीले नै कब्जा गरेको उल्लेख गरिएको छ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य सन्तोषनारायण श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले जग्गा, घरलगायत सम्पत्तिको लेखाजोखा गरी प्रतिवेदन तयार गरेको हो ।
पोहोर वैशाख २३ गते गठित समितिलाई एक वर्षभित्रै प्रतिवेदन बुझाउन उर्जा मन्त्रालयले निर्देशन दिएको नागरिक दैनिकमा खबर छ । समितिमा उर्जा मन्त्रालयका सहसचिव किरणराज शर्मा, प्राधिकरणका कानुन विभाग निर्देशक गोसाइ केसीसमेत सदस्य थिए ।
समितिले देशभरका प्राधिकरण कार्यालयलाई सबै जग्गाको विवरण बुझाउन भनेको थियो । केही स्थानको स्थलगत भ्रमण र सबै कार्यालयले उपलब्ध गराएको विवरणका आधारमा एक वर्ष लगाएर कूल जग्गा, लालपूर्जा, अतिक्रमणमा परे/नपरेको विस्तृत विवरण तयार पारेको हो ।
0 comments
Write Down Your Responses