डलरको मूल्य ९८.५० रुपैयाँ पुग्यो
२२ साउन, काठमाडौं । डलरको मूल्य बढेर इतिहासकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार केही वाणिज्य बैंकहरुले सर्वसाधारणलाई बिक्री गर्ने डलरको मूल्य ९८ रुपैयाँ ५० पैसासम्म तोकेका छन् ।
सर्वसाधारणले बैंकमा डलर साट्दा भने त्योभन्दा केही कम रुपैयाँ पाउँछन् । बैंकहरुले डलरको खरिद र बिक्री दर भिन्दाभिन्दै तय गर्दछन् ।
भारतमा आज भारु अवमूल्यनले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा एक अमेरिकी डलर किन्न ६१.३५ भारु तिर्नुपर्ने भएको छ । यसको नेपाली रुपान्तरण ९८ रुपैयाँ १६ पैसा हुन्छ । भारत सरकारले डलरको अधिमूल्यन रोक्न बण्ड बिक्री बढाइरहेको भए पनि बजारमा यथेष्ट प्रभाव नपरेको देखिन्छ । बण्डमा आकर्षण बढाउन सरकारले १० वर्षे वण्डमा ब्याज बढाएर ८.२४ प्रतिशत पुर्याएको छ ।
मंगलबार पुनः बढेको मूल्यले भारत सरकार र केन्द्रीय बैंक आरबिआईलाई पुनः नयाँ निर्णयका लागि दबाब दिएको विश्लेषकको भनाइ छ । गत जुलाइ ८ मा भारु अवमूल्यन भई एक डलरबराबर ६१.२१ भारुमा झरेपछि सरकारले कदम चालेको थियो । एक वर्षको अवधिमा नेपाल र भारतमा डलरको मूल्य ११ प्रतिशतभन्दा बढीले माथि गएको छ ।
0 comments
Write Down Your Responses