घुस नदिँदा विपक्षमा फैसला भएको आरोप

justice
लमजुङ, वैशाख ११ – जिल्ला न्यायाधीश काशीनाथ पोखरेलमाथि खुलेआम घुस मागेको आरोप लागेको छ । अंश लेनदेनको मुद्धामा नरहरि वाग्लेसँग टेलिफोनमार्फत् पोखरेलको भान्जा भन्दै कुमार निरौलाले ३ लाख रुपैया घुस मागेका थिए ।
वाग्लेले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूसँग घुस मागेको सार्वजनिक गरेका हुन् । ‘६ लाख, ४ लाख हुँदै पछि ३ लाखसम्म माग गरे, तर मैले मानिनँ’ वाग्लेले भने । हाल सदरमुकाम बेसीशहरमै व्यवसाय गरेर बस्दै आएका वाग्लेले घुस नदिएकै कारण न्यायाधीश पोखरेलले आफ्नो विपक्षमा फैसला गरेको दावी गरे । ‘पैसा दिने भए फैसला तपाईको नाममा हुन्छ भन्दै ३ महिनादेखि निरन्तर बार्गेनिङ गरे, मैले पैसा नदिएकै कारण विपक्षमा फैसला भएको हो’ उनले भने ।
अदालतले गत चैत ५ गते साँवा व्याजसहित २० लाख रुपैयाँ तिर्नुपर्ने गरी वाग्लेको विपक्षमा फैसला सुनाएको थियो । २०६८ साउनमा भएको अंशभण्डामा चित्त नबुझेपछि वाग्लेका भाई कृष्णहरिले २०६८ फागुन २ गते जिल्ला अदालतमा दाजूविरुद्ध मुद्धा दायर गरेका थिए । मुद्धा फैसला हुने दिन न्यायाधीशकै कार्यकक्षमा पुगेका वाग्लेले आफूसँग पैसा मागेको कुरा सुनाएपनि आफ्नो कुनै भान्जा नभएको भन्दै न्यायाधीशले इजलास गएर निर्णय सुनाएको उनको आरोप छ ।
‘मैले सिधै न्यायाधीशकोमा गएर कुमार निरौलाले पैसा किन मागेको भनेँ, उहाँले उनलाई म चिन्दिनँ बोलाउनु भन्नुभो मैले फोन गरि बोलाएँ तर कुमार निरौला नआउँदै न्यायाधीश इजालाश जानुभो र फैसला सुनाइदिनुभयो’, वाग्लेले भने ।
वाग्लेले मुद्धा उल्ट्याउनुपर्छ भन्ने पक्षमा नभई घुसखोरी प्रकरणको विरोधमात्र गरेका बताए । पैसा मागेर फैसला गर्ने न्यायाधीशले भाइसँग पनि घुस लिनसक्ने उनले आंशका गरे । न्यायाधीश पोखरेलले भने मुद्धा हारेको झोकमा आफूलाई बदनाम गर्न खोजेकाले कुनै प्रतिकृया दिन जरुरी नभएको बताए । ‘यो हारेको रिस मात्र हो, यस विषयमा मेरो कुनै टिप्पणी छैन, पोखरेलले भने ।
आरोपित कुमार निरौलाले न्यायाधीश पोखरेल नाताले हजुरवुवा पर्ने र वाग्लेसँग पनि सामान्य चिनजान भएको तर पैसाको बारेमा कहिल्यै फोन नगरेको दावी गरे । ‘मर्निङ्वाक जाँदा र अन्य समयमा कहिलेकाँही भेटघाट र कुराकानी हुन्थ्यो तर मुद्धाको बारेमा कहिल्यै कुराकानी भएन र फोन पनि गरिनँ’, उनले भने । निरौला बेसीशहरकै झिँगेखोलामा सामान्य फेन्सी पसल राखेर बस्दै आएका छन् । उनको घर उदयपुर हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.