माओवादीद्वारा ट्रकमा पेट्रोलबम प्रहार, खलासी घाइते


वीरगंज, चैत २६- बीरगन्ज-१९ मा पर्ने बाइपास रोडको नगवा पानीट्यांकी चोक अगाडि गुडिरहेको एउटा ट्रकमा नेकपा-माओवादीका कार्यकर्ताले आइतबार पेट्रोलबाम प्रहर गरी क्षतीग्रस्त पारेका छन्। घटनामा परी ट्रकका सहचालक श्रीपुर-१४ का भोलु हवारी सामान्य घाइते भएका छन्। रक्सौलबाट वीरगन्ज आउदै गरेको ना ३ ख २५१३ नम्बरको ट्रक गुडिरहेकै अवस्थामा माओवादी कार्यकर्ताले बोतलमा पेट्रोल राखेर तयार गरेको बम आगो सल्काई अगाडीबाट प्रहार गरेका थिए। चालक बस्ने क्याबिनमा एक्कासि पेट्रोलको आगो सल्किएपछि चालकले इन्जिन बन्द गर्दै हाम फालेर ज्यान जोगाएका थिए। अर्को तर्फबाट हाम फालेका सहचालक आगोले झोसिएका छन्। आगलागीबाट ट्रकको इन्जिन माथिको क्याबिनको भाग जलेको छ। स्थानीयहरु, प्रहरी र उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो। बन्द अवज्ञा गरेको हुनाले अक्रोशित कार्यकर्ताले घटना गराएको नेकपा-माओवादी पर्साका नेता पिएल श्रेष्ठ नागरिकन्युजलाई बताए। बन्दका कारण वीरगन्जको मुख्य बजार क्षेत्र ठप्प छ। सडकमा दुई पांग्रे सवारी, रिक्सा र टाँगा गुडे पनि ठुला सवारी साधन चलेका छैनन्। माओवादीले आह्वान गरेको बन्दको प्रभाव बिहान नदेखिए पनि ट्रक आगजानीपछि बजार, सवारी साधन ठप्प भएका हुन्। मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीसहित ३३ दलको मोर्चाले बन्द आह्वान गरेको हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.