मालपोत कर्मचारी-बैंक प्रबन्धकसहित १६ लाई कैद र जरिवाना


मकवानपुर, चैत २७- नक्कली पुर्जा खडा गरेर अर्कैको जग्गा बिक्री गरी ठगी गर्ने मालपोतका कर्मचारी र बैंक प्रबन्धकसहित १६ जनालाई अदालतले सजाय सुनाएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमबार ३१ आरोपितमध्ये १६ लाई कैद र बिगोबमोजिम जरिवाना फैसला सुनाएको हो। १५ जनाले सफाइ पाएका छन्। ठगी र किर्तेमा संलग्न भएकामा जिल्ला मालपोत कार्यालयका चार कर्मचारी, बैंक ग्यारेन्टी बस्ने प्रभु फाइनान्सका प्रबन्धकसमेत छन्। नक्कली जग्गाधनी, क्रेता, जग्गा मिलाइदिने र अधिकृत वारेसानामा लिएकासमेत दोषी ठहरिएका हुन्। हेटौंडा-४ कर्रास्थित किशोरकुमार विष्ट र शैलेन्द्रकुमार विष्टको नाउँमा रहेको कित्ता नम्बर १०२८ को ७ कठ्ठा ५ धुर जग्गा कागजात नै किर्ते बनाएर बेच्ने समूहलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए। अदालतले जग्गाधनी बनेर मालपोत कार्यालयमै सरकारी विवरण तथा फोटो सच्च्याउन लगाई जग्गा बिक्री गरेका प्रेमप्रसाद दाहाल र मोहन भनिने शिवभक्ति अधिकारीलाई ठगीमा संलग्न भएको ठहर गर्दै जनही ३ वर्ष ६ महिना कैद र बिगोबमोजिम १ करोड ८ लाख ७५ हजार रुपैयाँ जरिवाना गरेको छ। किर्तेमा संलग्न भएकामा दुवैलाई एक/एक वर्ष कैद र ५०/५० रुपैयाँ पनि जरिवाना गरिएको छ। दुवै मुद्दामा गरी दाहाल र अधिकारीले जनही ४ वर्ष ६ महिना कैद बस्नुपर्नेछ भने १ करोड ८ लाख ७५ हजार ५० रुपैयाँ जरिवाना बुझाउनुपर्ने छ। वाणिज्य विभागमा दर्ता भई काठमाडौं महानगरपालिका-२३ मा कार्यालय रहेको न्यु एसिया प्यासिफिक ट्रेडर्सलाई पाँच कट्ठा पाँच धुर जग्गा बेचेको देखिएको छ। विष्टद्वयको नाममा रहेको नागरिकतामा आफ्नो फोटो टाँस गरी नागरिकताको प्रतिलिपि पेस गरेर जग्गाको पुर्जाको प्रतिलिपि लिई असार ६ गते दाहाल र अधिकारीले साहलाई बिक्री गरेको देखिएको थियो। ँजग्गाधनीको विवरण सच्च्याउन र सरकारी विवरण तथा फोटो परिवर्तन गराउन सहयोग पुर्‍याएका जिल्ला मालपोत कार्यालयका कर्मचारी श्याम पोखरेल, ईश्वरीप्रसाद अर्याल, चन्द्रप्रकाश श्रेष्ठ र रामकृष्ण श्रेष्ठलाई जनही ६ वर्ष कैद र १ करोड ८ लाख ७५ हजार ५० रुपैयाँ जरिवाना फैसला भएको छ। उनीहरुलाई पनि किर्तेमा संलग्न भएकोमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको हो भने ठगी गरेवापत् थप ३ वर्ष कैद तथा बिगोबमोजिम जरिवानाको फैसला भएको जानकारी अदालतका स्रेस्तेदार ज्ञवालीले दिए। रामकृष्ण र ईश्वरी मालपोत कार्यालयमा नायब सुब्बा तथा श्याम र चन्द्रप्रकाश खरिदार थिए। जग्गा मिलाइदिने, कारोबारमा संलग्न भई ठगी गर्ने मतियारका रुपमा अदालतले पाँचजनालाई जनही दुई वर्ष कैद र १ करोड ८ लाख ७५ हजार जरिवाना सुनाएको हो। किर्ते मुद्दामा थप एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानामा परेको छ। विष्णु राई, पुष्कर शाह भनिने प्रशान्तजंग ठकुरी, चूडामणि ढंुगेल, मनहरि गौतम, पुष्क सुनारले ३ वर्ष कैद बस्नुपर्नेका साथै १ करोड ८ लाख ७५ हजार ५० रुपैयाँ जरिवाना बुझाउनुपर्ने छ। जग्गा मिलाइदिने जितबहादुर तामाङलाई पनि २ वर्ष कैद, १ करोड ८ लाख ७५ हजार जरिवाना सुनाइएको छ। उनको किर्तेको अभियोग नपुगेको अदालतले उल्लेख गरेको छ। उनी फरार थिए। जग्गा किन्ने न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक प्रशान्त अग्रवाललाई दुई वर्ष कैद फैसला गरिएको छ। फैसलाअनुसार उनले किनेको जग्गा फिर्ता गरी ७८ लाख ७५ हजार जरिवाना तिर्नुपर्ने छ। फैसलापछि अग्रवालले किनेको जग्गा विष्ट दाजुभाइको नाममा फिर्ता जाने भएको छ। उनले नक्कली किशोर विष्ट अर्थात् प्रेम दाहालसँग ७८ लाख रुपैयाँमा जग्गा किनेका थिए। प्रशान्त अग्रवालको वारेस बनेका शिव श्रेष्ठलाई पनि २ वर्ष कैद, ७८ लाख ७५ हजार जरिवाना र किर्ते मुद्दाको ५० हजार रुपैयाँ जरिवाना तिर्ने सजाय तोकिएको छ। त्यही जग्गाबाट कित्ताकाट गरी महोत्तरी लोहारपट्टी-२ का मदनकुमार साहले पनि जग्गा किनेकोमा उनलाई पनि २ वर्ष कैद र जग्गा फिर्ता गराई ३० लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनले किर्ते प्रकरणमा भने अभियोग दाबी नपुगेको फैसलामा उल्लेख गरिएको छ। जग्गा खरिदका लागि बैंक ग्यारेन्टी बसेर ठगीमा संलग्न भएको ठहर गर्दै अदालतले प्रभु फाइनान्स जनकपुरका प्रबन्धक भरतबल्लव दासलाई २ वर्ष कैद र बैंक ग्यारेन्टी बसेबराबर ३० लाख रुपैयाँ जरिवाना गरेको छ। विष्ट दाजुभाइको ५ करोडभन्दा बढी मूल्य पर्ने ७ कट्ठा ५ धुर जग्गा नाटकीय ढंगले बिक्री भएपछि संलग्न कर्मचारी, स्थानीय सहयोगी र जग्गा मिलाइदिनेलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतमा २०६८ भदौ १२ गते मुद्दा दर्ता भएको थियो। मुद्दाको फैसलापछि दोषी ठहर भएकाले ७० दिनभित्र उपल्लो अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ। १५ जनालाई सफाइ जग्गा किर्तेमा संलग्न भएको आरोपमा मुद्दा दायर गरिएका १५ जनाले सफाइ पाएका छन्। सफाइ पाउनेमा सिफारिस गरेका हेटौंडा नगरपालिका-४ का सचिव पुष्पराज पौडेल, नगरपालिकाका निमित्त प्रमुखका रुपमा प्रमाणित गर्ने प्रबन्धक वीरकृष्ण महर्जन, बैंकका कर्मचारी, मालपोत कर्मचारी लेखापढी व्यवसायी र जग्गा मिलाउने व्यवसायमा रहेकासमेत छन्। अदालतको स्रेस्तेदार ज्ञवालीका अनुसार महर्जन, पौडेलसहित निकिता मास्के, प्रवेश राजभण्डारी, भरतलाल मल्लिक, रामचन्द्र भण्डारी, अर्जुनप्रसाद पौडेल, कमल घिमिरे, शेखर घिमिरे, राजेन्द्र ढकाल, पूर्णप्रसाद अर्याल, नोमप्रसाद घिमिरे, कृष्ण दुंगेल, खिलप्रसाद गौतम र जनार्दन पाण्डे छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.