महलमा बस्ने छोरा, बुहारीका बाबुआमा वृद्धाश्रममा
६ भदौ, बिहीबार । सन्तानविहीन र चल–अचल
कुनै पनि सम्पत्ति नभएकालाई बुढेसकालमा सहारा दिने स्थानका रूपमा चिनिन्छ,
पशुपतिस्थित वृद्धाश्रम । तर, त्यहाँको यथार्थ अर्कै छ । सम्पत्ति र सन्तान
भएका जेष्ठ नागरिक समेत साहारा खोज्दै बुढेसकालमा त्यही पुग्ने गरेका छन् ।
छोराछोरीले घरमा राम्रो व्यवहार नगरेकाले उनीहरूका लागि बुढेसकालको बास
वृद्धाश्रम बन्न पुगेको हो । वृद्धाश्रममै बसे पनि बेला–बेला आफूलाई भेट्न
आउने गरेको वृद्धाश्रममा बस्दै आएकी एकजना महिलाले बताइन् । उनका अनुसार
सहरमै गतिलो घर भएका र राम्रै कमाइ गर्नेले कर्तव्य बिर्सेर बाबु–आमालाई
वृद्धाश्रममा छाड्ने गर्छन् । तर, केहीका बाबु–आमा भने सहमतिमा वृद्धाश्रम
पुग्ने गरेका पनि रहेछन् ।
वृद्धाश्रममा भेट्न आउँदा आफ्नै
छोराछोरीले पनि असली परिचय दिँदैनन् । टाढाका आफन्त वा आफूले चिनेको
मान्छेलाई भेटन आएको भन्दै वृद्धाश्रमका कर्मचारीलाई ढाँट्ने गरेका छन् ।
कतिपयका छोराछोरी आर्थिक रूपमा सम्पन्न छन् महँगो गाडी चढेर भेटन आउछन् तर
मेरा बाबुआमा हुन् भन्दै घर फर्काउने कुरा गर्दैनन् । आफ्ना सन्तान
फर्किएपछि वृद्धवृद्धाले साथीसँग ‘मेरो छोरा/छोरी वा नाति/नातिनि हो’ भनेर
चिनाउँछन् । वृद्धाश्रममा नियमित भेट्न आउने सन्तानका बाबु–आमाले समेत
आफूलाई छाड्नु सन्तानको रहरभन्दा पनि बाध्यता भएको बताउने गर्छन् ।
वृद्धाश्रममा आश्रय लिएका जेष्ठ नागरिकलाई
दाताले समय–समयमा नगद र विभिन्न किसिमका जिन्सी सहयोग गर्छन् । सन्तान
भएकाले जम्मा भएको नगद वा जिन्सी सन्तानलाई दिएर पठाउँछन् । तुलनात्मक
रूपमा पुरुषलेभन्दा महिलाले जिन्सी सामान बढी पाउँछन् । कतिपय महिलाले
छोरी÷बुहारीलाई वर्षभरलाई पुग्दो कपडा यहीँबाट पठाउने गरेका छन् । एक
कर्मचारी भन्छन्, ‘कतिका लागि त वृद्धाश्रम पनि कमाउने ठाउँ भएको छ ।’
अघिल्ला वर्षहरूमा कतिपय जेष्ठ नागरिकलाई सन्तानसँग फर्काएको उदाहरण भएको
वृद्धाश्रममा कार्यालय प्रमुख रामशरण थापाले बताए । उनका अनुसार पहिले
सन्तान नभएको भन्दै साहारा लिन आए पनि पछि सन्तानको पत्तो लागेपछि
उनीहरुलाई फर्काइएको छ ।
कतिपयका सन्तान आफैँ आएर आमा–बाबु फर्काउन
चाहन्छन् । उनले भने–‘आमा–बाबु त्याहाँ छन् भन्ने थाहा नभएका सन्तान कुनै
माध्यमबाट थाहा पाएपछि खोज्दै लिन आएका पनि छन् ।’ कतिपय जेष्ठ नागरिकको
छोराले घरबाट निकाले पनि छोरीलाई पत्तो नहुने रहेछ । कतिपय छोरीले थाहा
पाएपछि खोज्दै आएका घटना कर्मचारी सुनाउँछन् । ‘अघिल्लो वर्ष पनि त्यसरी नै
दुईजना छोरीहरू आएर आमा फर्काएर लगेका थिए’, उनीहरूले भने । महिला,
बालबालिका तथा समाज कल्याण मन्त्रालयले पठाएपछि राखिने हुनाले जेष्ठ
नागरिकको सम्पति वा सन्तानका बारेमा खोजी नगरिने थापाले बताए । गाबिसको
सिफारिस मन्त्रालयसम्म पुगेपछि नै मन्त्रालयले उनीहरूलाई वृद्धाश्रम पठाउने
गरेको राजधानी दैनिकमा खबर छ ।
वृद्धाश्रममा आश्रय लिएका मध्ये कोही
पनि जेष्ठ नागरिकले आफ्नो परिवार भएको नबताउने उनले बताए । उनले भने, ‘यहाँ
कार्यरत कर्मचारीलाई सबैले सन्तान नभएको नै बताउँछन् ।’ उनीहरूले नबताए
पनि व्यवहारका आधारमा सम्पत्ति भएका वा नभएका हुन भन्ने छुट्टाउन सकिने
उनले बताए । तुलनात्मक रूपमा सम्पत्ति भएकाहरू बढी सुविधाको खोजी गर्छन् ।
उनीहरूले खाने, सुत्नेलगायतका कुरा स्तरीय माग्ने हुनाले कर्मचारीले
उनीहरुले ढाँटे पनि थाहा पाउने गर्छन् । १९३८ मा स्थापना भएको वृद्धाश्रममा
अहिले २ सय ३० जनाले आश्रय लिइरहेका छन् । झन्डै १ सयजना पुरुष छन् भने १
सय ३० जना महिला छन् । वार्षिक रूपमा २० देखि ३० जनासम्मको मृत्यु हुने र
त्यति नै संख्यामा नयाँ आउने हुँदा संख्यामा त्यति घटबढ हुँदैन । सबै
जिल्लाका भए पनि भौगोलिक निकटताका कारण भक्तपुर, काभ्रे,
सिन्धुपाल्चोकलगायत जिल्लाका बढि छन् । यहाँ बसेका मध्ये कतिपय जेष्ठ
नागरिकको सम्पत्ति शून्य नै छ ।
|
0 comments
Write Down Your Responses