दिल्लीमा प्रचण्डको रात्रीभोज बहिष्कार
१५ वैशाख, नयाँ दिल्ली । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदूतावासले आयोजना गर्न लागेको रात्रीभोज प्रवासी नेपालीसम्वद्ध संघसंस्थाले बहिष्कार गर्ने भएका छन् । नेपाली काँग्रेसको भारत प्रवासको संघ नेपाली जनसम्पर्क समिति, नेकपा एमालेनिकट प्रवासी नेपाली भारत संघ र राष्ट्रिय जनमोर्चानिकट मूल प्रवासी एकता समाजले रात्रीभोज कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेहा हुन् ।
बहालवाला राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको स्वागतमा राजदूतावासले रात्रीभोज आयोजना गर्ने परम्परा रहँदै आएपनि पूर्व प्रधानमन्त्रीका हैसियतले प्रचण्डको स्वागतमा कार्यक्रम गरिएकामा विरोध गर्दै प्रवासी नेपाली सम्वद्ध संघसंस्थाहरूले पनि आपत्ति जनाएका छन् । नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले देशको ढुकुटी सकेर एउटा पार्टीको अध्यक्षको लागि भोजमा खर्च गर्नु जायज नभएको बताए । शक्ति पूजाको शैलीमा गलत नजिर र परम्पराले भविष्यसम्म समस्या आउने भन्दै बहिष्कार गरेको बताए ।
नेकपा एमाले निकट प्रवासी नेपाली भारत संघका महासचिव एवम् एमाले विदेश विभाग सदस्य युवराज बास्कोटाले आफूहरू रात्रीभोजमा सहभागी नहुने बताए । ‘शक्तिको पछि लागेर राजदूतावासले देशको ढुकुटी सकिने बाटो बनाएको छ,’ उनले भने,’ पार्टीगत स्वार्थका लागि गरिएको भ्रमणलाई यति ठूलो महत्व दिनु पर्दैन ।’ प्रचण्ड पूर्व प्रधानमन्त्रीका रुपमा नभई माओवादी अध्यक्षका रुपमा व्यक्तिगत स्वार्थ बोकेर भारत आएको बताए । आफूहरूले यस्ता भ्रमणलाई कुनै महत्व नदिने उनको भनाई थियो ।
राष्ट्रिय जनमोर्चा नेपाल निकट मूल प्रवासी एकता समाजका केन्द्रीय सदस्य ठाकुर खनालले रात्रीभोज बहिष्कारको घोषणा गर्दै निम्तो गरिएका प्रवासी नेपालीहरूलाई सहभागी नहुन आव्हान गरिएको बताए । चार दिने भारत भ्रमणमा आएका माओवादी अध्यक्ष प्रचण्डको स्वागतार्थ साँझ तय भएको रात्रीभोजमा नेकपा-माओवादी निकट प्रवासी संघले समेत बहिष्कारको घोषणा गरेको बुझिएको छ ।
0 comments
Write Down Your Responses