समाचार
»
आगामी निर्वाचनमा बहुमत ल्याएर संविधान बनाउँछौं: एमाले
आगामी निर्वाचनमा बहुमत ल्याएर संविधान बनाउँछौं: एमाले
भक्तपुर- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गरी संविधान निर्माण गर्ने दाबी गरेका छन्। मनमोहन स्मृति दिवसको अवसरमा नेकपा (एमाले) १ नम्बर निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले अबको निर्वाचनमा एमालेको बहुमत र एमाले सहयोगी पार्टीहरुसमेतको दुई तिहाई बहुमत आउने र यसैले संविधान निर्माण गर्ने बताए। संविधान बन्न नदिएर एमाओवादी पहिलो परीक्षा मै असफल भए भन्दै एमाले नेता नेपालले भने, “गएको निर्वाचनमा जनताले एमाओवादीलाई मत दिएर पहिलो पार्टी बनाएको काम लागेन, मत पनि खेर गयो, एकै परीक्षामा असफल हुने पार्टीलाई अब मत दिनु हुँदैन, एमालेले बहुमत ल्याए मात्रै संविधान बन्छ।” देश संविधानसभाको निर्वाचनमा होमिसकेको बताउँदै उनले निर्वाचनका लागि गाउँ अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा उनले जिल्लाका १६ गाविस र दुई नगरपालिकाका ५० ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामेश्वर फुँयाल, एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला लगायतले एमाले निर्वाचनमा जुटिसकेको बताए। रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses