भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
खुमबहादुरलाई चुनावमा उठाउनुपर्छ : कांग्रेस
२८ चैत, नवलपरासी । नेपाली कांग्रेसको महासमिति बैठकमा नेताहरुले भ्रष्टाचारको मुद्दामा जेल जीवन बिताइरहेका नेता खुमबहादुर खड्कालाई आगामी निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गरेका छन् । खड्काबारे पार्टीको धारणा स्पष्ट पार्न सहभागीहरुले नेतृत्वसँग माग गरेका छन् ।
समूहगत छलफलको निष्कर्ष पेश गर्दै बुधबार लुम्बिनी, राप्ती, कोशी र कर्णाली अञ्चलका संयोजकहरुले खड्कालाई एमाओवादीले षडयन्त्र गरी फसाएको भन्दै त्यसबारे नेतृत्व र पार्टीले आवाज उठाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले खड्कालाई चुनावमा उठ्ने वातावरण बनाउनसमेत नेतृत्वलाई आग्रह गरे ।
प्रदेशबारे थरिथरिका सुझाव
महासमिति सदस्यहरुले मुलुकलाई संघीयतामा लैजाँदा बहुपहिचान र सामर्थ्यका आधारमा बहुजातीय प्रदेश हुनुपर्नेमा जोड दिएका छन् । बन्दसत्रमा महासमिति सदस्यहरुले सकेसम्म थोरै प्रदेश बनाउनुपर्नेमा जोड दिएका हुन् ।
राप्ती अञ्चलको टोलीले ५ प्रदेश बनाउन सुझाव दिएको छ भने कर्णाली, जनकपुर र लुम्बिनीले ६ प्रदेश बनाउनुपर्ने निश्कर्ष निकालेको छ । त्यस्तै बाग्मती, सेती, भेरी महाकाली र सगरमाथाले ७ र नारायणीले ८ प्रदेश बनाउनुपर्ने सुझाव बन्दशत्रमा प्रस्तुत गरेका छन् । गण्डकी अञ्चलले ११ प्रदेश बनाउन सुझाव दिएको छ भने धवलागिरीले ५ देखि ७ प्रदेश हुनुपर्ने माग गरेको छ । कांग्रेसका प्रशस्त नेताहरु रहेको मेची अञ्चलले भने ठोस प्रस्ताव पेश गरेको छैन ।
मिश्रति निर्वाचन, आलंकारिक राष्ट्रपति
मिश्रति निर्वाचन प्रणाली अपनाउनुपर्नेमा सबै अञ्चल संयोजकहरुले जोड दिएका छन् । उनीहरुले संसदवाट निर्वाचित हुने कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति आलंकारीक हुनु माग गरेका छन् ।
बन्दसत्रमा बोल्न धेरै महासमिति सदस्यहरुले नाम टिपाएपछि बुधबार महासमति सदस्यहरुलाई अञ्चलको आधारमा १४ समुहमा विभाजन गरिएको थियो । राजनीतिक प्रस्तावका प्रस्तोता उपसभापति रामचन्द्र पौडेलको सुझावका आधारमा समूहगत छलफल गरिएको हो । काँग्रेस महासमिति बैठकमा समूहगत छलफल आधारमा निष्कर्ष सुनाइएको इतिहासमा यो पहिलोपटक हो । तर, काँग्रेसका केही नेताहरु भने महासमिति बैठकमा कम्युनिष्ट शैलीमा छलफल चलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
खिलराजलाई प्रधानन्यायाधीशबाट राजीनामा गराऊ
महासमिति बैठकको बन्दसत्रमा बोल्ने अघिकांश सदस्यहरुले अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउनुपर्नेमा जोड दिएका छन् । एउटै व्यक्ति कार्यपालिका र न्यायपालिकाको प्रमुख बनाउँदा शक्ति पृथक्कीकरणको विपरीत हुने भएकाले प्रधानन्यायाधीशबाट राजीनामा गराउनुपर्ने माग गरेका हुन् ।
बैठकमा सदस्यहरुले निर्वाचनमा जानुअघि बाबुराम भट्टराई सरकारले गरेका सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्न मागसमेत गरेका छन् ।
भ्रातृ संगठनको चुनाव गराऊ
बन्दसत्रमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ लगायतको अधिवेशन लामो समयदेखि हुन नसकेकाले तत्काल निर्वाचन गराउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले भ्रातृ संगठनको अधिवेशन नहुँदा संगठन लथालिंग भएको भन्दै छिटो अधिवेशन गराउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
चुनाव असारमा नभए मंसिरमा
प्रयास गर्दागर्दै असारमा निर्वाचन हुन नसके मंसिरमा गराउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन नै एकमात्र विकल्प भएकाले छिटोभन्दा छिटो निर्वाचन गरी संविधान निर्माण गर्नुपर्नेमा अधिकांशले जोड दिएका छन् । उनीहरुले निर्वाचनमा जानुअघि बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका निर्वाचनसम्बन्धि नियुक्ति तथा निर्णयहरु खारेज गर्नुपर्ने बताएका छन् ।
मधेसबारे प्रष्ट होऊ
मधेसका महासमिति सदस्यहरुले मधेसका विषयमा थप प्रष्टताका साथ आउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । मधेसी नेताहरुले मधेसमै जन्म भएको पार्टी काँग्रेसलाई पहिलेकै अवस्थामा फर्काउन मधेसका सवालमा प्रष्ट भएर मधेस जानुपर्नेमा जोड दिए ।
उनीहरुले मधेसमा जान मधेसका माग सम्बोधन गर्नेखालका कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताए । उनीहरुले पार्टी कार्यकर्ताको सुरक्षाको जिम्मा पार्टीले लिनुपर्ने मागसमेत गरे ।
सुझाव महत्वपूर्ण : बडु
यसैवीच काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले महासमिति सदस्यहले वन्दसत्रमा संघीयता, निर्वाचन प्रणाली, संगठन निर्माणलगायतका विषयमा निकै महत्वपूर्ण सुझाव दिएको जानकारी दिनुभएको छ । महासमिति बैठकस्थल गजेन्द्र मोक्ष धाममा पत्रकार सम्मेलन गरी प्रवक्ता बडूले महासमिति बैठकमा महासमिति सदस्यहरुले राखेका सुझावलाई पार्टीले मनन गर्ने बताउनुभयो ।
बडूले भन्नुभयो-’बन्दसत्रमा महासमितिका सदस्यहरुले महत्वपूर्ण सुझाव राख्नु भएको छ । संविधान निर्माणदेखि संगठन सुदृढीकरण, भ्रातृ संगठनको निर्वाचनवारे समेत सुझाव आएको छ ।’ बडूले महासमिति बैठकमा ६, ७ वा १३ प्रदेश आएको र तीमध्ये कुनै एक प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । बडूले संघीयतालगायतका विषयमा महासमिति बैठकले दिएका नयाँ संशोधित प्रस्ताव तयार पारिने जानकारी दिनुभयो ।
Powered by Blogger.
0 comments
Write Down Your Responses