भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
आफ्नो भुलेर अरुको भाग्य देखाउने मान्छे !
२८ चैत, काठमाडौं । ललितपुर चिडियाखाना पस्ने मूलढोका बाहिरको सानो सडकमा एकजना बूढा मान्छे टुक्रक्क बसेका छन् । नजिकै रहेको नाङ्ले पसल कुरेर बसेका दुई सुन्दर बालिका आफ्नै धूनमा खेल्दैछन् । छेउमा रहेका एक पसलेले सोधे-’ए कमला आज तिम्रो स्कूल लाग्दैन ?’
सानी नानीले जवाफ फर्काउन नपाउँदै सडक कुनामा बसिरहेका आँखा नदेख्ने वृद्धले जवाफ फर्काए-’बल्ल रिजल्ट भयो, दुबैजना पास भए, अब २ गतेदेखि स्कूल जान्छन् ।’ बूढा मान्छेको कुरा सुनेर प्रश्न सोध्ने पसले केटाले मुन्टो हल्लाए । फेरि बूढा मान्छेले थपे- ‘ए छोरी हो, आमा आएकी हो कि हेर त………।’ परबाट एकजना महिला लौरो टेक्दै त्यतै आउँदैथिइन् ।
‘आमा आउनु भो, आमा…..’ दुबै बालिका उफ्रदै, कुद्दै आमा छेउ पुगे । आमाको पोल्टो छामे र खानेकुरा खान थाले । ‘दुबै पास भएछौ………’ खुशी हुँदै आमाले भनिन् । ‘बुबा बुबा म त पास…..’ सानी नानी उफ्रदै बृद्ध छेउ पुगिन् । सडक कुनामा बसिरहेका बूढाको अनुहारमा झन् चमक थपियो ।
एकछिनको त्यो चहलपहल र खुशीयालीबाटै थाहा भयो- भर्खरै पास भएको खबर थाहा पाएका दुई बालिकाका बुबा आँखा देख्नुहुन्न । आमा राम्रोसँग खुट्टा टेक्न सक्नुहुन्न । आँखा नदेख्ने बा र खुट्टा राम्ररी नटेक्ने आमा आफ्ना सुन्दर छोरीहरुको सफलतामा प्रफुल्ल छन् । सानो परिवारको यो खुशीयाली नजिकबाट नियालिसकेपछि उनीहरुबारे सोधखोज गर्न मन लाग्यो ।
दोलखादेखि काठमाडौंसम्मको यात्रा
दोलखा पवटी गाविस-७ का पदम ढकाल आँखा देख्नुहुन्न । ‘आँखा नदेख्ने भएपछि गाउँठाउँमा बसेर खनजोत र उकाली-ओराली गर्न सकिएन’ ढकालले भन्नुभयो- ‘मागेर खान मन लागेन, केही न केही गुजारा गर्नुपर्यो भनेर काठमाडौं आएँ ।’ तर, उहाँ एक्लै काठमाडौं आउनुभएन, जीवन संगिनी गंगाले पनि साथ दिनुभयो । ‘उहाँ यहाँ बसेर जोखाना हेर्नुहुन्छ, म अलि पर बसेर नाङ्ले पसल चलाउँछु’ शारीरिक अपाङ्गता भएकी गंगाले अनलाइनखबरसँग भन्नुभयो ।
आँखा नदेख्ने मान्छेले अर्काको भविष्य कसरी हेर्न सक्ला ? प्रश्न सोध्नै लाग्दा हतपत पदमले भन्नुभयो-’तपाईंलाई अचम्म लाग्यो होला, म नाम भनेपछि जसको पनि जोखाना हेर्न सक्छु । कसैले नाम भन्नेवित्तिकै दक्षिणकाली माईलाई साक्षी राखेर म उसको भविश्य खरर्र भन्दिन्छु । अहिलेसम्म धेरैले पत्याएकै छन् क्यारे ।’
जोखाना हेरेर कमाइ पनि टन्नै हुन्छ होला नि ? हाम्रो जिज्ञासामा पदमले भन्नुभयो-’धेरै हैन बाबु, कोठाबहाल तिर्न र बिहानबेलुका हातमुख जोर्न पुगेकै छ ।’
बुबाको कुरा सुनेर नजिकै रहेकी ठुली छोरीले थपिन्-’त्यति मात्र होइन, हाम्रो पढाइ खर्च पनि त बा-आमाले नै पुर्याउनुहुन्छ ।’ छोरीको कुरा सुनेपछि गंगाको अधरमा मुस्कान छायो । ‘के गर्नु, कोदालो खन्न, भारी बोक्न सकिँदैन, केही न केही गरेर गुजारा त चलाउनैपर्यो ।’
‘काम गर्न सके सबै राम्रो, काम गर्न नसके कोही पनि नराम्रो’ पदमले भन्नुभयो-’हाम्रो भन्नु नै यी दुई छोरीहरु हुन्, उनीहरुको भविश्य खुशीका लागि हामी खाली हात बस्दैनौं ।’
आँखा फ्याट्टै नदेख्ने र खुट्टा राम्ररी टेक्न नसक्ने बा-आमाको मेहनत साना छोरीहरुले पनि राम्रारी बुझेका छन् । ठूली छोरी पवित्रा अहिले ६ कक्षामा पुगिन् । सानी कमलाले तीन कक्षा पास गरिन् । ‘बा-आमाले हामीलाई पढाउनुभएको छ, ठूलो भएपछि बा-आमालाई हामी पालिहाल्छौं नि ।’ ठूली छोरी पवित्राले भनिन् ।
सुख खोज्न मान्छेहरु अरबको मरुभूमिसम्म पुगेका छन् । साथमा प्रशस्तै धन सम्पत्ति र अग्लो महल भएर पनि पारिवारिक सुख नपाई कयौं मान्छे छट्पटिएका छन् । तर, दुईथुँगा फूलजस्ता छोरीको भविश्यसँगै खुशी साटेर दिनभरि सडकमा संघर्ष गरिरहनुभएका दृष्टिविहीन पदम र विकलाङ्ग गंगालाई देख्दा यस्तो लाग्छ, सुख र खुशी हाम्रै सडकपेटीमा असरल्लै छरिएको हुँदोरहेछ । कुरो यत्ति हो, बाह्यदृष्टिले यो खुशी देख्न सकिँदैन, पदमको जस्तै अन्तरदृष्टि चाहिन्छ !
Powered by Blogger.
0 comments
Write Down Your Responses