समाचार
»
बलात्कार अभियुक्त अझै पक्रिएनन्, अधिकारकर्मी मौन
बलात्कार अभियुक्त अझै पक्रिएनन्, अधिकारकर्मी मौन

काभ्रे, वैशाख - १६ वर्षे किशोरी सामूहिक बलात्कारको सिकार भएको ३० दिन बितिसक्दा समेत प्रहरीले अभियुक्त पक्रन सकेको छैन । लामो समयसम्म पनि प्रहरी प्रशासनले अभियुक्त पक्रन नसक्दा पीडितका परिवार चिन्तामा छन् । घटना अनुसन्धान जारी रहेको र अभियुक्तको नजिक पुगेको भने पनि प्रहरीले पक्रन खासै चासो देखाएको छैन । प्रहरीले अभियुक्त नपक्रिनु उनीहरूलाई उम्काउने खेल भएको परिवारले आशंका गरेका छन् । 'प्रहरी कतै अभियुक्त उम्काउने खेलमा त लागेको छैन ? भन्ने शंका हुन थालेको छ,' पीडित किशोरीका दाजुले भने, 'नत्र अझैसम्म प्रहरीले अभियुक्त किन पक्रेन ?' पानी खाने बहानामा गत चैत १३ गते राति घरभित्र छिरेका हतियारधारी अज्ञात समूहले मेथिनकोट ८ की ती किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए । घटनालगत्तै पीडित किशोरीका काकाले अभियुक्तलाई कारबाही माग गर्दै जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले पीडित किशोरीका भिनाजुको पूर्व श्रीमतीसमेत रहेकी बनेपा ८ बस्ने जानुका थापालाई पक्राउ गरे पनि अभियुक्त पक्रन प्रहरी प्रशासन असफल देखिएको छ । अभियुक्त पक्रन नसक्दा प्रहरीले किशोरीको मुद्दा बुझाउन सकेको छैन । जबरजस्ती करणी कसुरमा अभियुक्तलाई कारबाही गर्न घटना घटेको ३५ दिनभित्र अभियुक्तको पहिचानसहित सरकारी वकिल कार्यालय मार्फत प्रहरीले अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी प्रावधान छ । 'अभियुक्तको पहिचान खुलिसकेको छ,' जिल्ला प्रहरी प्रमुख एसपी कमल घर्तीले भने, 'अभियुक्तको पछाडि प्रहरी लागिसक्यो ।' जति सक्दो छिटो अभियुक्त पक्रिने उनले बताए । प्रहरी स्रोतका अनुसार घटनामा संलग्न ५ जना अभियुक्तको पहिचान खुलेको छ । उनीहरू केही किशोरीको गाउँ आसपाससहित, सिन्धुपाल्चोक र काठमाडौंका छन् । महिला हिंसाविरुद्ध वकालत गर्दै आएका अधिकारकर्मीले पनि यस घटनामा चासो देखाएका छैनन् । दलका महिला संगठनहरू पनि मौन रहेको पीडित परिवारको गुनासो छ । घटनाबारे महिला अधिकारकर्मी मौन नरहेको नेपाल बार पूर्व जिल्ल्ाा अध्यक्ष कृष्णप्यारी नकर्मीले दाबी गरिन् । 'हामी मौन बसेका छैनौं,' उनले भनिन्, 'अभियुक्तलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनलाई दबाब दिइरहेका छौं ।' अर्की अधिकारकर्मी ल्याककी प्रेमकुमारी पौडेलले घटनालाई गम्भीरतापूर्वक लिइरहेको बताइन् । 'अभियुक्त पक्रन ढिला भएको भन्दै बिहीबार प्रहरी प्रशासनमा डेलिगेसन जाँदै छांै,' उनले भनिन्, 'अभियुक्तलाई कारबाही नभएसम्म चुप लागेर बस्दैनौं ।' प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल र वाग्मती अञ्चल प्रहरी प्रमुख रमेश खरेलले घटनाको छानबिन गरी अभियुक्त पक्रन प्रहरी मातहतका इकाईर्लाई निर्देशन दिइसकेको बताएका छन् । 'प्रहरी हिरासतमा रहेकी जानुकालाई छुट्टयाउन एमाओवादीका केही नेताले प्रहरीलाई दबाब दिइरहेका छन्,' प्रहरी स्रोतले भन्यो, 'जानुकाको कल डिटेलमा समेत एक वाईसीएल नेताले पटक-पटक फोन गरेको देखिएको छ ।' १० वर्ष कैद फैसला हेटौंडा- अपांग एक युवतीलाई बलात्कार गरेको ठहर गर्दैर् जिल्ला अदालत मकवानपुरले एक युवकलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । पीडित युवतीलाई क्षतिपूर्तिस्वरूप युवकबाट एक लाख भराउने पनि आदेश गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको मंगलबारको इजलासले हेटौंडा नगरपालिका ७ की २८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गरी सोही वडाका २२ वर्षीय राजेश परियारलाई जबर्जस्ती करणी गरेकामा ५ वर्ष र सुस्त मनस्थितिकी अपांग युवती बलात्कार गरेकामा थप ५ वर्ष गरी १० वर्ष थुनामा राख्ने आदेश गरेको हो । गत महिनाको १८ गते बेलुका स्थानीय किरान्चोकस्थित बाँसको झ्याङ नजिक एक्लै बसिरहेको अवस्थामा औद्योगिक क्षेत्रबाट घरतर्फ गइरहेका परियारले मुख थुनेर बलात्कार गरेका थिए । युवतीले आफू बलात्कृत भएको जानकारी अभिभावकलाई गराएपछि अभिभावकसहित स्थानीयवासीले गत महिनाको १९ गते परियारलाई समातेर कारबाहीका निम्ति प्रहरीलाई बुझाएका थिए । प्रहरीले अनुसन्धान गरेर आइतबार अदालतमा पेस गरेको थियो । अदालतले आइतबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निरन्तर सुनुवाइअन्तर्गत सोमबार र मंगलबार साक्षी र बकपत्र बुझ्ने काम गरेर अदालतले तीन दिनमा नै उक्त मुद्दा फैसला गरेको हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses