साझा बसमा जो पनि चढ्दछ (भिडियो)
१६ बैशाख, काठमाडौं । लगनखेलबाट नयाँ बसपार्क छुट्ने बेलादेखि नै सिट भरिभराउ भैसकेको थियो । जावलाखेल, पुल्चोक, कुपण्डोलबाट यात्रु थपिएपछि त उठ्ने र समाउने ठाउँ समेत बाँकी भएन । अझ बीचमा अरुले पनि हात तेर्साउँदै थिए । तर निश्चित ‘स्टप’ मा मात्र रोक्ने भएकाले अरु गाडी जस्तो साझा बस यात्रु देख्ने बित्तिकै रोकिएन ।
त्रिपुरेश्वरमा झण्डै दुई माईक्रोमा अट्ने यात्रु साझा बस नै पर्खेर बसेका थिए । पहिलेदेखि नै यात्रुलाई मिलाएर राख्न व्यस्त परिचालिक रेनुका तामाङले सबैलाई राख्न सक्नुभएन । ‘ल अट्दैन है, अर्कोमा आउनुहोस्’ निकै विनम्र भएर उहाँले अनुरोध गर्नुभयो । ‘जति खचाखच भएपनि अरु सार्वजनिक यातायात चढेजस्तो कष्ट र दुव्र्यवहार सहनु पर्दैन’ यात्रु भन्दैथिए । बुढापाका र अशक्तलाई परिचालकले मात्र होइन, अरु यात्रुले पनि सम्मान गर्छन् । महिला र अशक्तको लागि छुट्याईको सिट खाली नै छ भने पनि अरु बस्दैनन् । बोलाईबोलाई ठाउँ छोडिदिन्छन् ।
भाडा उठाउँदा परिचालकले आमा, बा, सर, मेडम भनेर सम्बोधन गर्छन् । टिकट दिएर पैसा लिन्छन् । चालक र परिचालक ट्राफिक नियम पालना र यात्रुको सुविधाको लागि निकै सचेत छन् । बैशाख १ गतेदेखि राजधानीमा पुनः शुरु भएको साझा यातायातले आफ्नो यो सेवालाई यसैगरी निरन्तरता दिन सकोस् भन्ने यात्रुको शुभेच्छा छ ।
भिडियो हेर्नुस् :
0 comments
Write Down Your Responses