इराकमा नेपाली चेलीको हत्या


२६ चैत, काठमाण्डौं । प्रतिबन्धित मुलुक इराकमा काम गर्न पुगेकी धादिङ तिप्लिङ ६ की सुमिता तामाङको बग्दाद नजिकै एक इराकी मालिकको घरमा हत्या भएको छ। बग्दाद नजिकै जादि्रयामा एक इराकीको घरमा काम गर्ने सुमितालाई मार्च २८ (चैत १५)को बिहान ६ बजे भान्सामा काम गरिरहेका बेला घर मालिकका ‘मानसिक सन्तुलन ठीक नभएका छोराले छुरा प्रहार गरी हत्या गरेको स्थानीय व्यवसायी ध्रुव कुवँरले बताएका छन् । शवलाई हाल स्थानीय अस्पतालमा राखिउको छ । ‘सुनिताले काम गर्ने घर नजिकै घरेलु कामदार रहेकी ठूलोबाकी छोरीले मलाई यो घटनाका बारेमा जानकारी गराएकी हुन,’ कुँवरले फोनमा भने, कान्तिपुर दैनिकमा खबर छ । इराकी घर मालिकसँग सम्पर्क गर्ने र उक्त अस्पतालमा भ्रमण गर्ने योजना रहेको उनले सुनाए । २३ बर्षकी सुमिताको बुबाआमाको नाम दुर्गा र सुष्मा तामाङ रहेकाले सोही आधारमा धादिङस्थित घरको पहिचान गरेर शव फर्काउने कुटनीतिक प्रयासका लागि इस्लामाबादस्थित नियोगलाई जानकारी गराइएको छ । घटनाको पुष्टि गर्दै गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले दुई बर्षमा काम गर्ने सम्झौता सकिएपछि २३ बर्षकी सुमिताले हालै जादि्रयास्थित नयाँ घरमा काम थालेको बताए । ‘म कुर्दिस्थानमा रहेकाले बग्दादमा रहेका नेपाली मार्फत मृतक युवतीबारे थप बुझ्ने प्रयासमा छु,’ उनले भने । इराकमा हाल ३० हजार भन्दा बढी नेपाली रहेकामा पाँचहजार जति महिला रहेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.