मालेको राष्ट्रिय सम्मेलन सुरु, छ प्रदेशको धारणा

भिडियोको लागी तल क्लिक गर्नुहोला

काठमाडौं- नेकपा (माले)को छैटौं राष्ट्रिय सम्मेलन आजदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ। दलका महासचिव सिपी मैनालीले उद्घाटन गर्नुभएको अधिवेशन मङ्गलबारसम्म चल्ने सम्मेलनमा चार सय ५० प्रतिनिधि सहभागी छन्। सो अवसरमा मालेका महासचिव मैनालीले संविधानमा सगरमाथा, जनक, वाग्मती, लुम्बिनी, कर्णाली र सेती–महाकाली गरी छ प्रदेश हुन आवश्यक रहेकामा जोड दिए। एकीकृत नेकपा(माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानसभाको निर्वाचनको मिति तोकिएमा आफैं वातावरण बन्दै जाने बताउँदै निर्वाचनको मिति घोषणा नहुँदा धमीलो पानीमा माछा मार्नेहरु सक्रिय हुन पाएको जिकिर गरे। नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मङ्सिरको पहिलो हप्ताभित्रै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अन्यथा हिमाली क्षेत्रमा निर्वाचन कठिन हुने धारणा राखे। उनले केही कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा छाडेर जातीय मुद्दा उचालेकै कारण संविधानस भाबाट संविधान लेख्न नसकिएको टिप्पणी गरे। नेकपा (एमाले)का पोलीटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रियताको मुद्दा र प्रगतिशील संविधान लेखनका लागि आफ्नो पार्टीसँग सहकार्य गरे अगाडि बढ्न नेकपा (माले)लाई आह्वान गरे। उनले सरकार र ठूला दलका नाममा भएका पछिल्ला गतिविधि राष्ट्रहितविपरीत भएको बताउँदै यस्ता गतिविधि दोहोरिए ठूला दलका देशभक्तले पार्टी छाड्नुपर्ने अवस्था आउनेमा सचेत गराए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इसारामा चार राजनीतिक शक्तिले निमित्त पात्र भएर काम गरिरहेको आरोप लगाए। नेपालका लागि चीनका राजदूत उ चुन्ताईले चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट सम्मेलन सफलताको शुभकामना दिँदै नेपालमा राजनितिक स्थिरता र आर्थिक विकास भएको चीनले हेर्न चाहेको बताए। कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका प्रवक्ता रत्नेश्वरलाल कायस्थ, फोरम (लोकतान्त्रिक)का महासचिव जितेन्द्र देव, जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारी, नेकपा(मार्क्सवादी)का माधव ज्ञवाली, नेकपा(संयुक्त)का ठाकुरप्रसाद शर्मालगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए। सम्मेलनमा सोमबारदेखि बन्दसत्र सुरु हुनेछ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.