नारायणकाजीलाई प्रचण्डको चेतावनी

काठमाडौं, बैशाख २६– उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा भएका नियुक्तिको विषयलाई लिएर विरोध सार्वजनिक गरेपछि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले उनलाई पार्टी लाइनविरुद्ध नजान चेतावनी दिएका छन् ।

प्रचण्डले बिहीबार बिहान हात्तीवनस्थित उनकै निवासमा पुगेर नारायणकाजीलाई यस्तो चेतावनी दिएको हात्तीवन स्रोतले जनाएको छ ।

हेटौंडा महाधिवेशनबाट अध्यक्ष प्रचण्ड र अर्का उपाध्यक्ष बाबुराम भट्टराई कार्यदिशामा एकमत भएपछि नारायणकाजी असन्तुष्ट बनेका थिए ।

प्रचण्ड र भट्टराईबीच अन्तरविरोध हाल्न सके आफू बलियो हुने नारायणकाजीको रणनीति हेटौंडा महाधिवेशनमा सफल हुन सकेको थिएन ।

संविधानसभा अघि पार्टी एकता गर्न तयार नभएका नारायणकाजी श्रेष्ठ चुनावमा तत्कालीन एकताकेन्द्र(मसाल)ले दुई सिट मात्रै जितेपछि आफ्नो संगठन नै बढारिने डरले उनी तत्कालीन माओवादीसित हतार हतार एकता गर्न पुगेका थिए ।
एमाओवादीमा आफ्नो स्थितिलाई बलियो बनाउने रणनीतिअन्तर्गत उनले पछिल्लो समयमा राष्ट्रवादको नारा घन्काउँदै आएका छन् ।

दैलेख प्रकरणका बेला दोषीलाई कारबाही गर्नुपर्छ भन्ने नारायणकाजीको अभिव्यक्तिले प्रचण्ड र बाबुरामलाई निक्कै झस्काएको थियो । ‘त्यसले जनयुद्धका मुद्दा ब्युँझाएर प्रचण्ड र बाबुरामलाई जेल हाल्ने र आफैं पार्टीको अध्यक्ष बन्ने रणनीतिमा त कतै नारायणकाजी छैनन् भन्ने आशंका उब्जाएको थियो,’ यसअघि नारायणकाजीसँगै पार्टी केन्द्रमा रहेर काम गरेका एक वरिष्ठ नेताले भने ।

ती नेताले भने, ‘पछिल्लो समयमा लोकमानको नियुक्ति र स्वयम् खिलाराज रेग्मीको सरकार पनि भारतले बनाएको भनेर उनले जो अभिव्यक्ति दिइरहेका छन्, त्यसबाट उनी अमेरिकी जासुसी संस्था सीआईएको लगानी रहेको भनिएका कतिपय नेपाली सञ्चारमाध्यमको प्रवक्ता जस्ता देखिएका छन् ।’

पछिल्ला क्रियाकलापले कतै निर्वाचन भाँड्ने र पार्टी फुटाउने खेलमा त नारायणकाजी छैनन् भन्ने आशंका एमाओवादी संस्थापनमा पैदा भएको एक केन्द्रीय सदस्यले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.