यी हुन् खयरमाराका खरा माओवादी !

२६ वैशाख, काठमाडौं । ‘योपटकको चुनावमा त एमाओवादीलाई हराउने हो । जतिपटक जिताए पनि नेताहरुले आफ्नो धोती फेर्नेबाहेक केही गरेनन् । योपटक त कुनै हालतमा जिताइन्न’- एमाओवादीद्वारा यसैसाता आयोजना गरेको मधेस ब्यूरोको आमसभा एवं प्रशिक्षणमा सहभागी हुन सर्लाहीको हरिवन पुगेका महोत्तरी निर्वाचन क्षेत्र नम्बर-६ का इन्चार्जसँग खयरमारा निवासी मिथिला राज्य समिति सदस्य भीमनाथ गौतमले पोखेको आक्रोश हो यो ।
mao-led
गौतम त्यतिमै रोकिएनन्, उनले भने- ‘योपटक बरु आफै उठिन्छ, तर पूर्वसभासद भरतप्रसाद साहलाई त कुनै हालतमा जिताइन्न । म खयरमाराको भोटले नै जित्छु ।’ उनको भनाइ टुङ्गनि नपाउँदै उनलाई मोटरसाइकलमा राखेर ल्याउने एक स्थानीयले ठट्यौली पारेमा भने- ‘यही भएर मैले पनि अहिलेदेखि नै उहाँलाई मोटरसाइकलमा राखेर हिँड्न थालेको । सभासद भएपछि पीए भइन्छ कि ?’
महोत्तरीका माओवादी नेता, कार्यकर्ताको यस्तो कुरा सुनेपछि अनलाइनखबरलाई विवादको चूरो कुरो खोज्ने कौतुहल जाग्यो र क्षेत्र नम्बर ६ का इन्चार्जसँग छुट्टएिका गौतमलाई अलग्गै भेट्ने प्रयास गरियो । दोस्रोपटक भेट्दा उनको तातो आबेग केही साम्य त भएको थियो तर, दुःखेको मनमा मल्हम कसैले लगाउन भ्याएका थिएनन् ।
अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई पनि कार्यकर्ताको गुनासो सुन्ने फुर्सद थिएन । न गौतमलाई गुनासो सुनाउन पाइएला भन्ने आश नै थियो । ‘अध्यक्षसहितका नेतालाई भेटेर धेरैपटक कुरा राखियो, तर सुनुवाइ नै भएन’ गौतमले भने-’अब त भेटेर कुरा राख्नुको कुनै अर्थ पनि छैन ।’ त्यसैले होला आमसभामा सहभागी भएका उनी प्रशिक्षणमा भने बसेनन् ।
यसकारण चित्त दुःख्यो
समानुपातिक तर्फबाट पूर्वसभासद् भरतप्रसाद साहले आफूलाई धोका दिएको गौमतले बताए । आफ्ना नातागोतालाई काखी च्यापेको र खयरमाराबासीलाई नहेरेको उनको गुनासो छ । ‘आज मात्र समस्या आएको हैन, यो हिजोदेखिकै हो । महाधिवेशनमा जाने बेलामा पनि हामीले जसलाई विश्वास गरेका थियौं, उसैले विश्वासघात गरे’ किन चित्त दुख्यो भन्ने प्रश्नमा उनले थपे- ‘महोत्तरी जिल्लाको खयरमारा गाविस छुट्टै जिल्ला हो कि भन्नेजस्तो भयो । किनभने हिजो दुःखकष्ट र यातना सारा भोगेर आइयो, आज आफ्ना अगुवा-पछुवा, श्रीमती, भाइभतिजाभन्दा बाहेक अरुलाई नदेखेपछि हाम्रो चित्त दुखेको हो ।’
आफ्नो क्षेत्रमा जाँदासमेत साहले नेभेटेको उनको गुनासो छ । ‘सरदसिंह भण्डारी हालै खयरमारा गए, भोज खुवाएर आए’ उनले भने-’हाम्रा नेता भनाउँदाहरु आफ्नो क्षेत्रमा जाँदासमेत हामीलाई भेट्दैनन् । अनि यिनलाई किन जिताउने ?’
खरयमारा क्षेत्रमा करिव ८ हजार भोट रहेको भन्दै उनले यो क्षेत्र नम्बर ६ को चुनावमा निणर्ायक मत हुने दाबी गरे । ‘एकपटक भडि्एको मासलाई दुःखले एकीकृत गरेका छौं’ उनले भने- ‘फेरि कुन दिन जान्छन् र भड्काउँछन् । अब हाम्रो खयरमाराबाटै उम्मेदवार नबनाउने हो भने हामीलाई बाहिरको व्यक्ति स्वीकार्य हुँदैन ।’
बाबुराम भट्टराईसँगै पातलो मसालबाट माओवादीमा प्रवेश गरेका हुन् गौतम । त्यतिबेला उनी विद्यार्थीको उपकेन्द्रीय सदस्य थिए । सशस्त्र विद्रोहका क्रममा १६ भन्दा बढी जिल्लामा पुगेका उनले जिल्ला सदस्यदेखि राज्य समिति सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
अहिले विवाद भए पनि गौतममा पार्टीप्रति आशा भने अझै कायमै छ । उनले भने- ‘हिजो ०४८ मा पार्टी एकता हुँदादेखि यही माओवादी भन्दै आएको छु । अब अन्त जाने त कुरै हुँदैन । पार्टी राम्रो बन्छ कि भन्ने आश छ ।’ यद्यपि नेताहरु सुधि्रनुपर्नेमा उनको जोड छ । उनले भने-’विवाद र मनमुटावलाई सम्बोधन नगर्ने हो भने पार्टीलाई जीवित राख्न सकिँदैन । नेताहरुलाई सही ठाउँमा उभ्याउन पनि हामीले द्वन्द्ववादी चरित्र देखाउनैपर्छ ।’
केहीबेरको कुराकानीपछि प्रचण्डसहितका नेताहरु सभास्थल आइपुगे । सबै आमसभामा केन्दि्रत हुन थालेपछि छुटिने क्रममा चुनाव भयो भने के भनेर भोग माग्नुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा एमाओवादी नेता गौतमले भने-’भोट माग्ने सवालमा लाज हुने रहेन छ, राजनीति भनेको फोहोरी खेल रहेछ ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.