एक करोड ५५ लाख ठगी

काठमाडौं- नेपालमा मानिसमा काम गरेर खानेभन्दा पनि अरुको सम्पत्ति ठगेर खाने प्रवृत्ति बढ्दै गएको छ। यसरी ठगको सामूहिक मिलोमतोको पछिल्लो सिकार काठमाडौंको खड्का भद्रकाली गाविस–२ का राजन श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र सजना श्रेष्ठ भएका छन्। आफूलाई लुम्बिनी अञ्चल रुपन्देही जिल्ला आनन्दवन नगरपालिका–१का बताउने ऋषभ धिताल, लोकबहादुर तामाङ तथा चाबहिलमा पब्लिक ल फर्म सञ्चालन गरी बस्ने गोरखा घर भएका अधिवक्ता हरिनारायण श्रेष्ठ र मालपोत कार्यालय चाबहिलका कर्मचारी नक्कली जग्गा भिडाई राजन श्रेष्ठबाट रु एक करोड ५५ लाख ठग्न सफल भएका छन्।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालयभित्र हुने यो अहिलेसम्मकै सबैभन्दा ठूलो ठगी प्रकरण भएको पीडित राजनले बताए। उनले आफूलाई धिताल भनी चिनाउने ती व्यक्ति तथा तामाङ फरार रहेको र उनीहरूसहित नक्कली जग्गाधनी लालपुर्जा बनाउन सहयोग गर्ने मालपोत कार्यालय चाबहिलका सम्बन्धित कर्मचारीलाई पक्राउ गरी कारबाही गर्न माग गरे।
अभियुक्तले नक्कली लालपुर्जा र नक्कली नागरिकताको प्रमाणपत्र तयार गरी काठमाडौं जिल्ला विष्णु गाविस–५ ख को कित्ता नं ४०८ को दुई रोपनी आठ आना जग्गा राजन, लक्ष्मी र सजनाका नाममा राजीनामा पास गरिदिएका थिए। पछि आफ्ना नाममा रहेको दुई रोपनी आठ आना जग्गामध्ये १३ आना दुई पैसा जग्गा जग्गाधनी राजनले पार्वती भण्डारीलाई बिक्री गरेपछि भण्डारी र उनका पति उमेशले घर बनाउन सुरु गरेपछि सक्कली धिताल आई विरोध गरेपछि उनीहरू ठगीमा परेको पत्ता लागेको थियो।

यसरी राजनसँग १३ आना दुई पैसा जग्गा खरिद गर्ने पार्वती र उनका श्रीमान् उमेश पनि ठगीमा परेका छन्।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.