ल्यापटप फुटाउने लिम्बुवान कार्यकर्ता रिहा हुन मानेनन्
२१ वैशाख, धरान । फोटोसहितको मतदाता नामावली संकलन गर्न खटिएको सरकारी टोलीसँग शुक्रबार धनकुटाको दक्षिणी गाविस ६ नं बुधबारेमा भएको झडपपछि पक्राउ परेका लिम्बुवान कार्यकर्ताहरु रिहा हुन नमानेको धनकुटा जिल्ला प्रशासनले बताएको छ । धनकुटाको राजारानी प्रहरी चौकीले थुनामुक्त गर्दा पनि उनीहरु रिहा हुन नमानी चौकीमै धर्ना दिएर बसेको प्रशासन कार्यालयले अनलाइनखबरलाई बतायो ।
‘कार्यकर्तालाई रिहा गर भन्दै उनीहरुले बन्दको आयोजना गरेका छन् । तर, हामीले रिहा गर्दा पनि ५ जना कार्यकर्ता रिहा हुन नमानी राजारानी चौकीमै बसिरहेका छन् ।’-धनकुटा जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले अनलाइनखबरसँग भने । ६ नम्बर बुधबारे गाविसमा आयोजित मतदाता नामावली संकलन कार्यको विरोधमा आफूहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले कुटपिट गरी पक्राऊ गरेको आन्दोलनकारी नेता कुमार लिङ्देनको आरोप छ ।
उता प्रशासनले चाहिँ फोटो खिच्ने क्रममा ल्यापटप फुटाएको हुनाले पक्राऊ गरिएको जिकिर गरेको छ । ‘शान्तिपूर्ण विरोध गरेको भए किन पक्रनु ? ल्यापटप फुटाएको हुनाले समातिएको हो ।’-जिल्ला प्रशासन स्रोले भन्यो । मोरङ, पाँचथर र धनकुटाको सीमाना जोडिएको विकट गाविस ६ नं बुधबारेमा शुक्रबार मतदाता टोलीको सुरक्षार्थ खटिएको प्रहरी र लिम्बुवान कार्यकर्तावीच झडप भएको थियो । बुधबारे धनकुटा जिल्लामा परे पनि मतदाता टोली भने छिमेकी पाँचथर जिल्लाबाट दुईवटा गाविसका लागि खटिएको थियो ।
झडपपछि बुधबारेमा पक्राउ परेका ७ कार्यकर्तालाई शुक्रबारै धनकुटाको राजारानी प्रहरी चौकीमा ल्याइएको थियो । कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवान बन्दको घोषणा गरिएपछि धनकुटाका प्रमुख जिल्ला अधिकारीले सबैलाई तत्काल रिहा गर्न राजारानी चौकीलाई निर्देशन दिनुभएको थियो । राजारानी प्रहरी चौकीले शनिबार स्थानीयवासीको रहोबरमा उनीहरुलाई रिहा गरेको धनकुटा जिल्ला प्रशासन कार्यालयको दाबी छ । ‘हामीले रिहा गरिसकेका छौं, तर उनीहरु जहाँबाट ल्याएको हो, वहीँ पुर्याउनुपर्छ भन्दै चोकीमै धर्ना बसेका छन् ।’
जिल्ला प्रशासन स्रोतले भन्यो- ‘उनीहरुले नै बन्दको आयोजना गरेर गाडी चल्न दिएका छैनन्, कोही पाँचथरका छन् त कोही ताप्लेजुङका छन्, तिनीहरुलाई हामीले कसरी उनीहरुले भनेका ठाउँमा पुर्याउने ?’ पक्राउ परेकामध्ये दुईजना घाइते भएकाले उपचारका लागि धरान लगिएको र तिनीहरुलाई पनि सामान्य उपचारपछि रिहा गरिएकोमा ल्याएकै ठाउँमा पुर्याउनुपर्छ भन्दै अत्तो थापेको प्रशासन कार्यालय बताउँछ ।
रिहा गर भन्दै बन्द
गिरफ्तार गरिएका कार्यकर्ताको रिहाइको माग गर्दै संघीय लिम्बुवानले शनिबारदेखि पूर्वका ९ जिल्लामा अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । बन्दले पूर्वका झापा, मोरंग, सुनसरी लगायत मेची कोशीका पहाडी जिल्लाको जनजिवनमा प्रभाव पारेको छ । पक्राउ परेका कार्यकर्ता रिहा नभएसम्म बन्द जारी रहने मञ्चका नेता लिङ्देनले बताएका छन् । बन्दकर्ता संगठन मोहन वैद्यको ३३ दलीय मोर्चामासमेत आवद्ध छ । प्रशासनले चाँहि रिहा गरिसक्दा पनि बन्दको नाटक गरेको जनाएको छ ।
यसैवीच शनिबार आन्दोलनरत ३३ दलका तर्फबाट विज्ञप्ति प्रकाशित गर्दै नेकपा माओवादीका सचिव देव गुरुङले पनि गिरफ्तार गरिएका लिम्बुवान कार्यकर्ताको तत्काल रिहाइ गर्न र घाइतेहरुलाई क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ । ‘ आन्दोलनरत दलका नेता कार्यकर्तामाथि प्रहरी दमन गरी निर्घात कुटपिट गर्ने र गिरफ्तार गर्ने काम जुन ढंगले सरकारले गरेको छ, त्यसले हामी आन्दोलनरत दलहरुलाई थप आन्दोलित तुल्याएको छ ।’ गुरुङ्गको वक्तव्यमा भनिएको छ-’सरकारलाई यस्ता दमनकारी कार्यहरु तुरुन्त बन्द गर्न र गिरफ्तार गरिएका नेता तथा कार्यकर्ता अविलम्ब एवं बिना शर्त रिहा गर्नका साथै घाइतेहरुको निःशुल्क उपचार तथा क्षतिपूर्तिको माग गर्दछौँ ।’v
0 comments
Write Down Your Responses