एमाले समुन्द्र हो, एकलोटा पानी झिक्दैमा सुक्दैन : खनाल
१९ बैशाख, नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभा निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ । खनालले पछिल्लो समयमा नेपाली जनताको भरोसा आफ्नो पार्टीप्रति बढ्दै गएकाले अब एमालेलाई ठूलो पार्टी बन्नबाट कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।
बाँकेमा विहीवार पार्टीका कार्यकर्तासंगको भेटमा खनालले एमाओवादीले बहुमत ल्याए संविधान पनि नबन्ने र मुलुक गम्भीर दुर्घटनामा फस्ने दाबी गर्दै अब मुलुकलाई संविधान दिन एमालेले बहुमत ल्याउन जरुरी रहेको बताउनुभयो । निर्वाचनको मिति घोषणा र तराईका केही जिल्लाहरुमा निर्वाचन क्षेत्र थपघट गर्ने तयारी भइरहेको खनालले बताउनुभयो ।
उहाँले भन्नुभयो-’एमाले भित्र रहेको एउटै कमजोरीलाई आपसको फुटलाई सच्याउदै एकताका साथ चुनावी मैदानमा लाग्न सकेमात्र जनताको अपेक्षा अनुसारको हामी प्रतिफल दिन सक्छौ।’ उहाँले लोकतान्त्रिक शक्तिहरुसंग चुनावी तालमेलको कुरा हुन सक्ने तर, पार्टीले पुरै सिटमा आफ्नो उम्मेदवार खडा गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो-’ एमालेले सबै सिटमा आफ्ना उम्मेदवार उठाउछ । तर, लोकतान्त्रिक शक्तिहरु कमजोर हुने ठाँउमा अवस्था हेरेर लोकतान्त्रिक र आफ्ना ईशु मिल्ने शक्तिहरुका लागि केही सिटमा तालमेल गर्न सक्छ ।’ उहाँले पार्टीका केही नेताले पार्टी छोडेर गएको प्रसंगमा एमाले पार्टीलाई समुन्द्रको संज्ञा दिदै भन्नुभयो-’ एमाले समुन्द्र रुपी पार्टी हो । समुन्द्रमा एक दुई लोटा पानी झिक्दैमा वा थप्दैमा केही परक पर्दैन ।’ खनालले नेकपा-माओवादी तथा अन्य दलहरुलाई लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनमा भाग लिनुको विकल्प नभएकाले सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो ।
0 comments
Write Down Your Responses