समाचार
»
एउटै ढुँगामा १६ फिट अग्लो हनुमान मूर्ति
एउटै ढुँगामा १६ फिट अग्लो हनुमान मूर्ति
भक्तपुर –भक्तपुरको दक्षिणवर्ति गाविस दधिकोट–७ मा एउटै ढुँगामा १६ फिट अग्लो हनुमान मूर्ति निर्माण भैरहेको छ। हिञ्चोक भैरब सुधार एवं संरक्षण संस्थाको सक्रियतामा हनुमानको पूर्ण कदको मूर्ति बनाउन लागिएको हो। मूर्तिको छातीमा रामसीता हुनेछन्। काभ्रेका कलाकार सानुभाई विश्वकर्माको समूह विगत ७ महिनादेखि मूर्ति बनाउन जुटेको छ। चार कलाकारले दिनभर मूर्ति कुँद्दै आउका छन्। मिशिनले हनुमानको शीर कुँद्ने काम भैरहेको छ। लोडसेडिङले मिशिन चलाउन समस्या पारेकाले मूर्ति निर्माणमा ढिलाई भैरहेको संस्थाका अध्यक्ष राजन बस्नेतले बताए। 'दिनभर बिजुली भैदिए तीन महिनामै मूर्ति पुरा गछौं भनेका छन् कलाकारले', उनले भने 'त्यसैले हामी छिट्टै जेनेरेटर व्यवस्था गर्दैछौं।' मूर्ति बनाउन ४६ टनको शीला गैंडाकोटको जयश्रीखोलाबाट ल्याइएको हो। हनुमानप्रतिको आस्थाले मूूर्ति बनाउन लागिएको अध्यक्ष बस्नेतले सुनाए। 'हिञ्चोक भैरब मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन पनि हामीले हनुमान बनाएका हौं', उनले नागरिकसँग भने। मन्दिरमा आइतबार दिउसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म रामायण भजन हुन्छ। आउँदो जेठमा साप्ताहिक रामायण भजनको २० वार्षिक उत्सव मनाइँदैछ। साप्ताहिक भजनको प्रतापले भक्तजनको इच्छामा हुनमान मूर्ति निर्माण गरिएको अध्यक्ष बस्नेत बताउँछन्। मूर्ति बनाउन २५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। अहिलेसम्म १२ लाख रुपैयाँ खर्च भैसकेको अध्यक्ष बस्नेतले बताए। भक्तजनको दानबाट ४ लाख रुपैयाँ उठेको र बाँकी रकम सापटीबाट चलाइएको उनले बताए। मूर्ति पुरा गर्न आर्थिक सहयोग आबश्यक परेको छ। 'घरदैलो कार्यक्रम गर्दैछौं', अध्यक्ष बस्नेत भन्छन् 'हामी देशभरका हनुमानभक्तसामु सहयोगको आग्रह गर्दछौं।' भैरब मन्दिर हाता साँढे तीन रोपनीमा फैलिएको छ। त्यहाँ पुग्न ठिमीको शंखधरचोकबाट एक किलोमिटर दक्षिण लाग्नु पर्छ। मूर्ति बनाउन थालेदेखि तिर्थालु आउनेक्रम बढेको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses