युरोपमा नेपाली जहाज उड्न नदिने चेतावनी
१४ जेठ, काठमाण्डौं । युरोपेली संघले नेपाली जहाजलाई कुनै पनि युरोपेली मुलुकको आकाशमा उड्न प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । संघले दुई महिनाअघि पठाइएको पत्रको जवाफ चित्त नबुझेपछि सरकार प्रमुखको ध्यानाकर्षण गराउँदै गत बैशाख २३ गते मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई चेतावनी पत्र पठाएको छ । पर्यटन मन्त्रालय र हवाई क्षेत्र अनुगमन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको पत्रमा नेपाली जहाज असुरक्षित भएको आरोप लगाएको छ । नेपाली जहाज धेरै दुर्घटनामा पर्दै आएकाले युरोपको आकाशमा उड्ने अनुमति दिन समस्या रहेको पत्रमा उल्लेख छ । संघले नेपाली हवाई उड्डयन यति धेरै असुरक्षित हुनुको चित्तबुझ्दो जवाफसमेत मागेकेा छ । पत्रमा भनिएको छ, ‘नेपालको हवाई उडानमा बढेको असुरक्षाबारे सन्तुष्ट पार्न सक्नुभएन भने संघको हवाई सुरक्षा कमिटीमा प्रतिबन्ध लगाउनेबारे प्रस्ताव गरिनेछ,’ अन्नपूर्ण पोष्टमा खबर छ । नेपाली जहाजलाई युरोपमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि सरकारले प्रतिवादका लागि एउटा उच्चस्तरीय टोली संघको मुख्यालय ब्रसेल्स पठाउने निर्णय गरेको छ । उडान सुरक्षाका लागि अपनाइएका विधि र प्रविधिको विवरणसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई उडान हेर्ने उपमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वको टोली मंगलबार ब्रसेल्स जाँदैछ ।
|
0 comments
Write Down Your Responses