आक्रमणको जवाफ प्रचण्डसँग माग्छु : गगन
दाङ- नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूमाथि भएको आक्रमणको जवाफ माओवादी अध्यक्ष प्रचण्डसँग खोज्ने बताएका छन्। आइतबार रुकुममा आफू सहभागी कांग्रेस सभामा माओवादीले आक्रमण गरेपछि अत्यन्त आक्रोशित बनेका थापाले उक्त आक्रमणको जवाफ अध्यक्ष प्रचण्डसँग सोधिखोजी हुने बताए। आइतबार कांग्रेसको सभामा माओवादी लडाकुलाई प्रवेश गराउने क्रममा माओवादी कार्यकर्ताले थापा सहभागी सभामै आक्रमण गरेका थिए। रुकुमबाट राजधानी फर्कने क्रममा नेता थापाले दाङको तुलसीपुरमा नेपाल प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा भने, 'ममाथिको आक्रमणको जवाफ माओवादी कार्यकर्तासँग हैन, अध्यक्ष प्रचण्डसँग खोज्नेछु, प्रचण्डले जवाफ दिन सक्नुपर्छ।' रुकुममा करिब एकसाता लामो बसाइपछि फर्किएका थापाले आफ्नो आधार इलाका रुकुममा समेत जनमत गुमाउँदै गएको माओवादीले अत्तालिएर आफूमाथि आक्रमण गरेको दाबी गरे। उनले रुकुममा कांग्रेसको एक जना कार्यकर्ता गाउँमा हिँड्दा माओवादी आत्तिने गरेको दाबी गरे। 'माओवादीले आफ्नै आधार इलाकामा जनमत गुमाउँदै गएको छ,' थापाले भने, 'जनमत गुमेपछि माओवादीले हिंस्रक चरित्र प्रदर्शन गरेको हो।' पार्टी प्रवेश गरेको देख्न नसकेर आक्रमणमै उत्रिनुले माओवादीको पक्षमा जनमत गुम्दै गएको पुष्टि हुने थापाको भनाइ छ। थापाले अबको संविधान सभाको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबीसमेत गरे। विभिन्न जिल्लामा कांग्रेसप्रति बढेको जनलहरले पनि यो पुष्टि भइसकेको उनको भनाई छ। तर बहुमत ल्याउन कांग्रेसले आगामी संविधान सभामा २ प्रकारको घोषणा पत्र लिएर जानुपर्ने बताए। 'एउटा घोषण पत्र संघीय लोकतान्त्रिक गणतन्त्र र अर्को सरकार सञ्चालनबारे हुन्छ,' नेता थापाले भने। उनले वर्तमान सरकारले राणा, राजा र बाबुरामको शासनको झल्को दिन थालेको बताए। पछिल्ला गतिविधिले वर्तमान सरकार पनि राणा, राजा र बाबुरामकै पछि लागेको प्रष्ट हुने थापाको दाबी छ।
0 comments
Write Down Your Responses