गणतन्त्र दिवसमा दुई थरी कार्यक्रम
१५ जेठ, काठमाडौं । संविधानसभाको म्याद थप
र अवसनका कारण लगातार तीन वर्ष खल्लो भएको गणतन्त्र दिवस यसपटक भव्य हुने
भएको छ । जेठ १४ को छाया नपरेकाले यसवर्ष गणतन्त्र दिवसको छुट्टै उत्साह छ ।
सरकार र नागरिक समाजको आहृवानमा टुंडिखेल र बानेश्वरमा दुईवटा
छुट्टाछुट्टै कार्यक्रम हुने भएका छन् ।
२०६५ मा गणतन्त्र कार्यान्वयनको घोषणा
भएपछि त्यसको अर्को वर्ष २०६६ मा मात्र गणतन्त्र दिवस भव्य रुपमा मनाइएको
थियो । त्यसपछिका २०६७, २०६८ र पोहोर ०६९ मा लगातार तीन वर्ष गणतन्त्र दिवस
खल्लो भयो । कारण थियो, जेठ १५ को गणतन्त्र दिवसमा जेठ १४ को छाया ।
२०६५ मा जनाएको प्रतिबद्धता अनुसार त्यसको
दुई वर्ष अर्थात २०६७ मा संविधान बन्न सकेन । गणतन्त्र दिवसको अघिल्लो रात
जेठ १४ गते संविधानसभाको म्याद थपियो । म्याद थपिएकोमा निराश भएका जनतालाई
भोलिपल्ट परेको गणतन्त्र दिवस खासै रमाइलो लागेन । थपिएको म्यादमा फेरि
संविधान निर्माण हुन नसकेपछि अर्को वर्ष ०६८ को जेठ १४ ले पनि भोलिपल्टको
गणतन्त्र दिवसलाई खल्लो बनायो । पोहोर साल त झन् संविधानसभाको अवसान नै
भएपछि गणतन्त्र दिवस भव्य हुन सकेन ।
पोहोर सरकारले गणतन्त्र दिवसलाई राष्ट्रिय
दिवसकै रुपमा घोषणा गरेको थियो । राष्ट्रिय दिवस भनेपछि यसको उत्साह र
रौनक नै अर्कै हुनुपर्ने हो । तर अघिल्लो रात संविधानसभा बिघटन भएको दुखद
अवस्थाले गणतन्त्र दिवस निकै खल्लो, निरस र नरमाइलो भयो ।
पोहोर गणतन्त्र दिवसको अवसरमा राजधानीको
टुंडिखेलमा सरकारले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति,
प्रधानमन्त्री, प्रधानन्यायाधीश, कुटनीतिक नियोग, विद्यार्थी, स्काउट,
सुरक्षाकर्मी लगायतको उपस्थिति थियो । तर मुख्य दलका शीर्ष नेताहरु
समारोहमा सहभागी भएनन् । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ
पनि कार्यक्रममा सहभागी हुनुभएन । रातभरको दौडधूप र थकानले राम्ररी सुत्न
नपाएका प्रधानमन्त्री र मन्त्रीहरुको मात्रै होइन अरु विशिष्ट व्यक्तिहरुका
अनुहारमा खासै चमक देखिएन । सबे भावुक, निराश र खिन्न मुद्रामा थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच मुस्कुराउनु बाहेक खासै बोलचाल भएन । त्यहाँ
पुगेका अरुको अनुहार पनि मलिन देखिन्थ्यो ।
पोहोर टुंडिखेलको कार्यक्रममा गीत गाउने
कलाकारले राष्ट्रपति, प्रधानमन्त्री सहित विशिष्ट व्यक्तिहरुको अघिल्तिर
संविधान नबनेको अवस्थाप्रति व्यंग्य र टिप्पणी गरे । उनीहरुले रातभर आँखा
झिमिक्क नगरी सुखद खबरको प्रतीक्षा गरेको तर निराश खबरले दुखित बनाएको
भन्दै गीतको भाकामा पोखे । अब नेपाल आमा हाँसेको हेर्न पाइयोस् भन्दै
उनीहरुले भूईंको टिप्न खोज्दा पोल्टाको पनि खसेको भन्दै कलाकारहरुले
नेताहरुको व्यंग्य गरे । कलाकारहरुको प्रस्तुति सुनेर समारोहमा उपस्थित
विशिष्ट व्यक्तिहरु झनै भावुक देखिए । भुईंतिर हेरेर बसे । परेवा उडाउने,
कवाज र झाँकी प्रदर्शन गर्ने औपचारिक कार्यक्रम बाहेक गणतन्त्र दिवसको खासै
चहलपहल भएन ।
यसपटक दुईथरी कार्यक्रम
यसपटक गणतन्त्र दिवसमा दुईथरी कार्यक्रम
हुने भएका छन् । सरकारको आयोजनामा टुंडिखेलमा हुने परम्परागत कार्यक्रम त छ
नै । यसबाहेक नागरिक समाजले छुट्टै कार्यक्रम गर्न लागेका छन् ।
शान्तिपूर्ण जनआन्दोलनले प्राप्त गरेका उपलब्धी छायामा पार्ने काम भएको
भन्दै नागरिक समाजले सरकारको कार्यक्रम बहिष्कार गरेर जनस्तरमा छुट्टै
समारोह गर्न लागेको हो ।
लोकतन्त्र तथा शान्तिका लागि पेसागत
सञ्जाल (पापड) र राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानले नयाँ
बानेश्वरमा भेला भएर नागरिक स्तरमा गणतन्त्र दिवस मनाउने निर्णय गरेका हुन्
। जनआन्दोलका दोषी लोकमान सिंह कार्कीको अख्तियारबाट बर्खास्ती, खिलराज
रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा र आममाफी दिने गरी बनेको सत्य निरुपण
तथा मेलमिलाप आयोगको अध्यादेश रद्द हुनुपर्ने नागरिक समाजको माग छ ।
|
0 comments
Write Down Your Responses